|

काठमाडौं : कला पेसा मात्र होइन, समाजको चिनारी पनि हो। हाम्रो परंपरा र सभ्यतालाई जोगाइराख्ने माध्यम हो। जब कला कुनै व्यक्तिका लागि जीवन निर्वाह गर्ने आधारशिला बनिदिन्छ, तब कलाप्रति सम्मोहन अझ बढ्ने गर्छ। हरेक व्यक्तिमा केही न केही सीप र कला हुन्छ। क्षमता हुन्छ। यिनै कला र क्षमतालाई  प्रयोगमा ल्याउन सके शानदार जीवनको कल्पना सजिलै गर्न सकिन्छ। बेलैमा आफ्नो कलाको माध्यमबाट आफ्नो चिनारी दिन सफल भएका कयौँ व्यक्तिहरू छन्। चित्रकलाको माध्यमबाट आफ्नो बजार आफैँ निर्धारण गर्ने व्यक्ति हुन्, समय श्रेष्ठ।

राती अबेरसम्म कीर्तिपुरस्थित आफ्नो कालभैरव ग्यालरीमा चित्र बनाउन मग्न हुन्छन् समय। मान्छेहरू मस्त निद्रामा हुँदा उनी चित्रलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने अनेक उपाय सोचेर बस्छन्। उनको आफ्नै लगानीमा दुई ग्यालरी छन्। एउटा वाघभैरवमा उमामहेश्वरी ग्यालरीको नाममा, जहाँ विदेशी पर्यटकका लागि विशेष प्राथमिकतामा भने अर्को ट्याङ्लाफाँट नजिक बाघभैरव ग्यालरीको नाममा, जहाँ नेपालीका लागि विशेष प्राथमिकतामा चित्र राखिएका छन्। सुरुवातमा उनले कलेज खर्च र आफ्नो दैनिक जीवनयापनका लागि चित्र कोर्थे। अब उनको चित्रकला यतिमा सीमित छैन। चित्रकला उनका लागि जीवनको हिस्सा भइसकेको छ। नेपाली कला, संस्कृति जोगाउने र देखाउने माध्यम भइसकेको छ।

काभ्रेको पनौतीका स्थायी निवासी उनलाई सानैदेखि आर्किटेक्चर इन्जिनियर बन्ने रहर थियो। पढाइमा अब्बल उनी इन्जिनियर नै बन्छु भन्ने सोच्थे। आर्थिक विपन्नताले गर्दा उनको इन्जिनियरिङ पढ्ने इच्छा तुहियो। इन्जिनियरिङ पढ्न नपाएपछि उनले चित्रकलामा आफूलाई अगाडि बढाउने सोचे। इन्जिनियर बनेमा यस क्षेत्रमा पनि आफूलाई सहयोग हुन्छ भन्ने सोच्थे उनी। तर तगारो बनिदियो- घरको आर्थिक अवस्था। विस्तारै चित्रकला पनि कम नभएको तर्कका साथ उनले यो पेसामा हात हालेको बताउँछन्। वि.सं. २०६२/०६३ मा ललितकला क्याम्पसमा चित्रकला अध्ययनका लागि भर्ना भए उनी। ललितकलामा प्रवीणता प्रमाणपत्र र स्नातक तह सकेर उनले यही विषयमा त्रिभुवन विश्वविद्यालयबाट भर्खर स्नातकोत्तर सके।

चित्रकलालाई उनी अभ्यास मान्छन्। अभ्यास र आँट गरे कुनै काम गर्न नसक्ने भन्ने नरहेको उनको भनाइ छ। नेपालमा रोजगारीको अवसर छैन भनेर विदेशिने लाखौँ युवाहरूका लागि उदाहरण बनेका छन् समय। उनी भन्छन्, 'आफ्नो कामले आफ्नो ब्राण्ड आफैँ बनाउने हो। हरेक पेसाका लागि नेपालमा प्रशस्त संभावना छ।' नेपालमा काम गर्न लाज मानेर विदशिनेहरूलाई आफ्नो कला र सीप प्रयोग गर्न सके बाँच्न सकिने प्रशस्त संभावना रहेको उनी सुनाउँछन्। हरेक व्यक्तिले आफ्नो सीपको बेलैमा पहिचान गरेर क्षेत्र निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

आफ्नो रहरको काम गर्दा पनि उनी यस क्षेत्रमा पुर्ण रूपले सन्तुष्ट रहेको बताउँछन्। श्रेष्ठ विशेष गरेर था‌ंका, पौवा, परंपरागत नेपाली संस्कृति झल्काउने चित्र बनाउँदा बढी सन्तुष्टि मिल्ने बताउँछन्। थांका र पौवाले आफूलाई आकर्षित गर्ने गरेको पनि बताए। थांका र पौवाको माध्यमबाट मोडर्न आर्ट गर्न सकिने भएकाले अध्ययनका लागि ललितकला भर्ना भएका हुन् उनी।

बाबुआमाका एक मात्र सन्तान हुन् उनी। बुबाआमाले भने उनलाई व्यापारी हुनुपर्छ भनेर सधैँ सम्झाउँछन्। घरको आर्थिक पाटोलाई मजबुत बनाउन हरेक बाबुआमाले आफ्ना सन्तानले धन कमाइदिए हुन्थ्यो भन्ने कुरा स्वाभाविक नै हो। उनी अहिले आफैँ चित्र बनाउँछन्। आफैँ बेच्छन्। यो सिलसिला लामो समयदेखि चलिरहेको छ उनको जिन्दगीमा। उनी भन्छन्, 'चित्रकलाले पनि आर्थिक मजबुतीको आधार निर्माण भएकाले मेरा लागि यो नै विजनेस हो भन्ने ठान्छु।'

उनले सामान्य दुई हजारदेखि दश लाख रुपैयाँ सम्मका चित्र बनाउँछन्। उनले बनाएका चित्रहरू काठमाडौंको ठमेल, पोखरा, भक्तपुर, पाटनमा पुग्छ। उनका लागि कीर्तिपुर पनि राम्रो बजार हो। यहाँका स्थानीय र विद्यार्थीहरूले पनि उनीबाट थुप्रै चित्र किन्छन्। उनीहरूले आफ्ना परिवारहरूको पोर्टेचर (मुहार चित्र) बनाउन आउने उनी सुनाउँछन्। 'कति मान्छेहरू मूल्य सुन्दै आश्चर्य मान्नुहुन्छ', उनी भन्छन्, 'सुनको महत्त्व त बुझाएपछि मात्र बुझ्ने त हो भनेजस्तै यी चित्रहरू कुन अवधारणामा बनाएको भन्ने कुरा बुझाउन सके चित्रहरू बेच्न कुनै गाह्रो हुँदैन।'

उनी आर्टको ठूलो स्कोप युरोपमा रहेको बताउँछन्। चित्रकला अध्ययनका लागि उनी अहिले पनि फ्रान्स जाने तयारीमा छन्। पढाइ र कामलाई सगँसँगै अगाडि बढाइरहेका उनले युरोप गएर चित्रकलाको माध्यमले नेपालको कला र संस्कृति चिनाउने आफ्नो ठूलो लक्ष्य रहेको योजना सुनाए। उनी भन्छन्, 'आर्टिस्टलाई कुनै पनि भूगोलले छेक्दैन।कलाकारहरू यस भूगोलका साझा सम्पत्ति हुन्।'

हरेक आर्टिस्टले गर्ने आर्ट फरक फरक हुने गर्छ। फरक भूगोलको आर्टिस्टसँग अझ बढी सिक्ने अवसर पनि पाइने र आफ्नो कलाले युरोपियन कलाप्रेमीहरूको मन जित्न सफल हुने कुरा उनी विश्वस्त छन्। आफूसँग भएको सीप र ज्ञानको दायरा फराकिलो बनाउन पनि एकचोटि फरक भूगोलको कलाकारसँग जोडिनु नितान्त आवश्यक रहेको उनी सुनाउँछन्।

विशेषत: पेन्टिङको हरेक वर्गका लागि उस्तै महत्त्व छ। तर नेपालमा पाइने अधिकांश पेन्टिङको मूल्य ज्यादै धेरै रहेको छ। यसको मुख्य कारण भनेको बनाउने स्रोत र साधन रहेको बताउँछन् उनी। पेन्टिङमा चाहिने क्यानभास, ब्रस, रङदेखि कलमसम्म विदेशबाट ल्याउनुपर्ने र आर्टिस्टले आफ्नै आइडियाले बनाउनुपर्ने भएकाले महँगो भएको उनको बुझाइ छ। 'पेन्टिङ फोटो जस्तो क्लिक गरेको भरमा आउने कुरा होइन। यहाँ सामान्य चित्र बनाउन पनि धेरै समय लाग्ने गर्छ', उनी सुनाउँछन्। उनले आफूले चित्र बनाउँदा कपडा (क्यानभास), तेल, पानी, एड्भान्स पेन्सिलहरूको प्रयोग गर्छन्।

पेन्टिङमा लाग्ने शुल्क र आफूले गरेको मिहिनेतको ज्याला उठ्ने हिसाबले उनले कम शुल्कमा नै आफूले बनाएका चित्रहरू बेच्ने गरेका छन्। उनका समकालीन साथीहरू केही विदेश पलायन भइसकेका छन् भने केही साथीहरूले नेपालमै आर्ट ग्यालरी चलाएर बसेको बताउँछन् उनी। आर्टले पुराना मूल्य र मान्यताहरू सँगसँगै समाजको चित्रण गर्ने उनी बताउँछन्। नेपालमा पछिल्लो क्रममा आर्टको सामाजिक र आर्थिक महत्त्व बढ्दै गएको कुरामा भने उनी खुसी देखिन्छन्। उनका बाबुआमा पनि आफ्नो छोराको प्रगतिमा खुसी छन्। पहिले विजनेस गर भनेर दबाब दिने गरेका भए पनि आर्टले आफ्नो दैनिकीलाई केही सहज बनाउँदै लगेकामा आमाबुबाको अनुहारमा पनि खुसी भेट्टाउने गरेको उनी बताउँछन्।

मान्छेका अनगिन्ती सोखहरूमध्येको एक हो- घरमा पेन्टिङ सजाउने। अचेल नेपाली समाजमा यसको महत्त्व बढ्दै गएकाले पनि चित्रकलाको बजार बढ्दै गएको छ। उनले लामो समयदेखि पढाइ र काम सँगसँगै गरिरहेका थिए। अब पढाइ सकिएकाले पनि चित्रकलालाई समय दिन पाएका छन्। उनी राती अबेरसम्म आफ्नो आफ्नो ग्यालरीमा काम गर्छन्। उनी भन्छन्, 'आफ्नो रहरको काम भएकाले पनि निद्राभन्दा काम प्यारो लागेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.