विरोध प्रदर्शन सुरु, यातायात ठप्प

|

सुनसरी : सुनसरीको इटहरीदेखि ६ किलोमिटर दक्षिण कोसी राजमार्गमा अवस्थित सोनापुर चौक रहेको छ। सोनापुर चौकबाट २ किलोमिटर पश्चिममा मुस्लिम समुदायको बाक्लो बस्ती रहेको छ। सो बस्तीमा घर भएका स्थानीय फिदा हुसेन बिहान श्रीमतीसँगै मर्निङवाकमा निस्किए। दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा भट्टामा कार्यरत हुसेन सोही उद्योगतिर मर्निङवाकमा गइरहेको बेला मोटरसाइकलमा आएका दुईजनाको समूहले ३ राउण्ड गोली प्रहार गरे।

तीन राउण्ड गोलीमध्ये छातीमा दुई गोली लागेका हुसेन ठाउँको ठाउँ ढले। उद्योग अघिको नहरको डिलमा हिँड्दै गरेका हुसेनमाथि मोटरसाइकलमा रहेका दुई अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका हुसेनले गोली लागेपछि तत्काल हल्ला गरे। हुसेनलाई स्थानीयले तत्कालै उपचारका लागि न्यूरो अस्पताल विराटनगर पुर्‍याएका थिए। गम्भीर अवस्थाका हुसेनको उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्य मध्येका उनका दाजु मेहेदीले जानकारी दिए। उनलाई तत्काल उपचारको लागि विराटनगर स्थित न्युरो अस्पतालतर्फ लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

को हुन् हुसेन?

गोली हानी हत्या गरिएका हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवं नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ का सभापति मेहेदी हुसेनका भाइ हुन्। हत्या गरिएका हुसेन स्थानीय जयबाबा इँटा भट्टामा कार्यरत रहेका थिए। पछिल्लो समय इँटा भट्टाको सम्पूर्ण रेखदेख हुसेनले नै गर्ने गरेको सञ्चालक खगेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार हुसेन २० वर्षदेखि सो इँटा उद्योगमा कार्यरत थिए। हुसेन परिवार सो ठाउँको नाम चलेको परिवारमा गनिन्छन्। मृतक हुसेनको शव यतिवेला उनको घर दुहबी ९ छाताबेलीस्थित घरमा ल्याइएको छ।

खुर्सिद हत्याकै शृंखला

सुनसरी प्रहरीले गोली किन र कसले प्रहार गर्‍यो भनेर खुल्न नसकेको जनाउँदै प्रहरीले घटनास्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको बताएको छ।  स्थानीयका अनुसार हुसेनसँग केही व्‍यत्तिसँग भएको आर्थिक लेनदेनको विवादमा गोली प्रहार भएको आशंका गरिएको छ। यसअघि दुई महिनाअघि असोज ४ गते सुनसरीको हरिनगरा–२, भुटाहाका रैयन पब्लिक स्कुलका प्रधानाध्यापक खुर्सिद आलमको हत्या भएको छ। हुसेन हत्यालाई पनि यसैको शृंखलाको रूपमा लिएको बताइएको छ।

त्योवेला खुर्सिदको हत्या गरेर सुटर फर्कंदासमेत नजिकै रहेको सशस्त्र प्रहरी र दंगा प्रहरीले कुनै कारबाही नगरको भन्दै सुनसरीको भुटाह क्षेत्रका सर्वसाधारण आन्दोलित भएका थिए। पछि आन्दोलन मत्थर भएको थियो। मुस्लिम समुदायले बुधबार बिहानको घटनालाई पनि सोही घटनासँग जोडेर हेरेका छन्। उनीहरूले घटनाप्रति खेद जनाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन्। मुस्लिम समुदायमाथि बारम्बार आक्रमण भइरहेको भन्दै भरपर्दो शान्ति सुरक्षाको ग्यारेन्‍टी हुन नसकेको उनीहरूको आक्रोश रहेको छ। हुसेनको हत्या सामान्य हिसाबले नभएको मुस्लिम अगुवाहरूले बताएका छन्। 

विरोध प्रदर्शन सुरु, यातायात ठप्प

बुधबार बिहान हुसेनको हत्या भएपछि दोषीको पहिचान गरी कारबाहीको माग गर्दै  स्थानीयले प्रदर्शन थालेका छन्। घटनाको विरोधमा दुहबी–इटहरी सडक खण्डमा  स्थानीयले टायर बालेर प्रदर्शन थालेपछि यातायात ठप्प छ। स्थानीयहरू प्रशासनको विरोधमा उत्रिएका छन्। इटहरीको खनार चौकदेखि दक्षिण नेमुवा चौकसम्मको विभिन्न ठाउँमा टायर बालेर स्थानीय प्रशासनविरुद्ध नाराबाजी भइरहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले घटनास्थलबाट गोलीका ३ वटा खोका फेला परेको बताए। घटनापश्चात् सुनसरीका सीमा नाकामा कडाइ गरिएको छ। चोकतथा नाकाहरूमा समेत बाक्लो सुरक्षा तैनाथी बढाइएको छ।

दुहबी गोली काण्ड अपडेट : घाइते मजदुरको मृत्यु 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.