|

तेह्रथुम : घटना १६ वर्ष पहिलेको हो। साँझ पर्न नपाउँदै गाउँ तथा बजारवासीहरु ढोका थुनेर घरभित्र पस्ने गर्दथे। बाहिर निस्कने कसैको हिम्मत हुँदैनथ्यो। प्रशासनले सहर बजार आसपासका क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था कडा बनाएको थियो भने गाउँगाउँमा माओवादी सक्रीयता बढ्दै गइरहेको थियो। जनयुद्ध चरम बिन्दुमा पुगेको त्यस बेला तत्कालीन सरकारले संकटकाल लगाएको थियो।

माओवादीले बजार केन्द्रित आक्रमण गर्दै छ भन्ने हल्ला पनि कहीँकतै सुनिन्थ्यो। कुनै जिल्लामा त आक्रमण भयो भन्ने समाचार पनि आउँथे। त्यो दिन बेलुका पनि यस्तै हल्लाको पछाडि लाग्दा एउटा भयानक घटना घट्न पुग्यो। त्यस घटनाबाट घर पसलका साथै ठूलो धनराशि क्षति भयो। जसका कारण हालसम्म पनि त्यो घटनाबाट पीडित व्यक्ति तथा परिवारहरु विक्षिप्त छन् भने तेह्रथुमवासीलाई मर्माहत पनि बनाएको छ।

०५९ मंसिर २२ गते म्याङलुङ बजारका ८६ वटा घरहरू आगलागीका कारण खरानी भएका थिए। आगलागी भएका उक्त घरहरुमा घरधनी, भाडा लिई बस्ने तथा पसल सञ्चालन गर्ने जम्मा २११ घरपरिवार विचल्ली भएका थिए। मंसिर २२ गते बेलुका करिब साढे सात बजेतिर सिंहवाहिनी मन्दिर छेउमा रहेको कोष लेखा नियन्त्रकको कार्यालय भएको घरदेखि सुरु भएको आगो भोलिपल्ट बिहान मात्रै नियन्त्रणमा आएको थियो।

करिब १० करोड क्षति

आगलागीबाट कोलेनिका भएको भवनदेखि मालपोत नजिकैसम्मका घर, पसल, टुँडिखेलनजिकै रहेको सहकारी भवनसम्मका घर पसल, केउरेनी लाइनसम्मका घर तथा पसलका साथै सिंहवाहिनी मन्दिर आसपासमा रहेका घरपसलहरु जलेर नष्ट भएका थिए। घर पसलसँगै खाद्यान्न, लत्ताकपडा, पसलका सामानहरुका साथै घर, पसलमा रहेका सम्पूर्ण सामानहरु समेत खरानी भएका थिए। आगलागीबाट घर, सुनचाँदी, लत्ताकपडा, घरभित्रका सामान बाहेक पसलका सामानको मात्रै करिब १० करोड बराबरको क्षति भएको थियो।

आफ्नै आँखाअगाडि घर, पसल, खाद्यान्न, लत्ताकपडाका साथै घरका सम्पूर्ण सामग्री जलेर खरानी भएको टुलुटुलु हेर्नु बाहेक केही उपाय नभएको भन्दै स्थानीय प्रशासन, तत्काली शाही नेपाली सेना, नेपाल प्रहरी कोही पनि समयमा नै आगो नियन्त्रण गर्न नआएको कारण पनि बस्ती जलेर यति ठूलो क्षति हुन पुगेको जिल्लावासीको जनगुनासो रहेको थियो।

सोही दिन मंसिर २२ गते नेकपा माओवादीद्वारा म्याङलुङ बजार आक्रमण गर्ने भन्ने समाचार पत्रपत्रिकामा आएको तथा सो अघिल्ला दिन नै नेपाल प्रहरीको ७० जनाको फौज फाक्चामारा गएको कारण तुरुन्तै घटनास्थल पुग्न गाह्रो भएको तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिलोचन शर्माले बताएका थिए। उनले जब प्राकृतिक कारणले नै आगो लागेको भन्ने थाहा पाएपछि आगो नियन्त्रणमा प्रयास गरिएको तर ढिला भइसकेको बताएका थिए।

बजारमा पानीको कमी, एकापसमा जोडिएका कच्ची घरहरु र सल्लाका काठद्वारा निर्मित घरहरु भएकोले पनि आगो नियन्त्रणमा कठिनाई आएको तथापि बम व्लाष्टिङ्ग गरेर थप क्षति हुनबाट बचाउन प्रयत्न गरिएको प्रजिअ शर्माले बताएका थिए। तर सो बम नपड्किएका कारण पनि घर भत्काउन नसकी थप क्षति भएको पीडितहरु बताउँछन्।

आगलागीबाट भएको क्षतिको निरीक्षण गर्न भोलिपल्ट तत्कालीन गृहमन्त्री धर्मबहादुर थापा आएका थिए। उनले तत्काल राहतका लागि सरकारका तर्फबाट ५ लाख रकम उपलव्ध गराएका थिए। तत्काल राहतका लागि तत्कालीन प्रजिअ हरिलोचन शर्माको अध्यक्षतामा म्याङलुङ बजार पुननिर्माण तथा पुनस्थापना समिति निर्माण गरी पीडितहरुलाई प्रति घर ४ हजार र खाद्यान्न वितरण गरिएको थियो।

सहयोगी हातहरुबाट १ करोड २० लाख रकम सहयोग संकलन भएको र सो रकम प्रत्येक घरधनीलाई १ लाख २५ हजारका दरले वितरण गरिएको थियो। डेरा गरी बस्नेहरुलाई भने जनही २५ हजार राहत दिने भनिएपछि लाखौं रुपैयाँको क्षति भएकोमा यति सानो रकमको सहयोगले अन्याय भएको भन्दै अस्वीकार गरिएको तत्कालीन आगलागीपीडित टीकाराम खुलालले बताए।

सो समयमा म्याङलुङवासीमा एकखालको निराशा र वितृष्णा सुरु हुँदै गयो। अब यस ठाउँमा बस्न नसकिने भन्दै केही मानिसहरू अन्तै जाने क्रम सुरु भयो। यस परिस्थितिमा पीडित म्याङलुङवासीलाई कसरी राहत उपलव्ध गराउने र बजारको पुननिर्माण कसरी गर्ने भन्ने चिन्ताले सतायो जिल्लाका अगुवा समाजसेवीहरुलाई।

तसर्थ गोविन्द ढुङ्गानाको अध्यक्षतामा म्याङलुङ नगर विकास समिति गठन गरी बजारको पुन संरचना तथा सडक निर्माण गर्ने काम अगाडि बढाइयो। ८६ घर तथा सँगै रहेका मठमन्दिर, पाटी लगायतको ४२ रोपनी जग्गा व्यवस्थित गरी हालको सुन्दर बजारको निर्माण गरिएको समितिका अध्यक्ष ढुङ्गानाले बताए। सहरी विकास धनकुटाको ३ करोड सहयोगमा बजार पुन संरचना गरिएको समेत अध्यक्ष ढुङ्गानाले बताए।

आगलागीको १६ वर्षपछि फेरियो म्याङलुङको मुहार

हाल राज्य पुनसंरचित भई स्थानीय तह कार्यान्वयनको चरणमा छ। अधिकार सम्पन्न म्याङलुङ नगरपालिका भएको छ। आगलागीको १६ वर्षमा आइपुग्दा पहिलेको म्याङलुङ पुननिर्माण भई नयाँ सहरको रुपमा विकसित भएको छ। घरहरु पक्की बनेका छन् र सडक पनि पहिलेको भन्दा चौडा बनाइएका छन्। तर सो घटनाका अवशेषहरुलाई निर्मुल गर्न भने कसैको ध्यान नगएको म्याङलुङवासीको गुनासो रहेको छ।

विनाशपछि फेरिएको म्याङलुङको मुहार उज्यालो भए पनि पीडामा परेका केही व्यक्तिहरुको मुहारमा भने अझै पनि खुसी नआएको आगलागीका पीडितहरुले भन्ने गरेका छन्। आगलागीपछि म्याङलुङ आधुनिक र नयाँ सहरको रुपमा विकसित भएको छ तर केही पीडित मानिसको भने जीवनस्तर अझैसम्म पनि माथि उठ्न नसकेको आम तेह्रथुमवासीको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.