कपिलवस्तु : मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई कृषि फाउण्डेसनको रूपमा विकास गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका ८ सातमारास्थित कृष्णसेन इच्छुकको पुर्ख्यौली घर भएको परिसरमा आयोजना गरेको प्रादेशिक सञ्चार सम्मेलनको उद्घाटन गर्दै पोख्रेलले उक्त कुरा बताएका हुन्।
मुख्यमन्त्रीले अहिले प्रदेशमा कृषिको क्षेत्रमा थुप्रै काम व्यवहारिक रूपमा कागजमा भइसकेको तर बाहिर मात्र नआएको बताएका छन्।
मुख्यमन्त्री पोख्रेलले प्रेस क्षेत्र बलियो भएमात्र लोकतन्त्र बलियो हुने हुँदा त्यस तर्फ ध्यान दिन पत्रकार तथा मिडिया हाउसलाई आग्रह गरे। उनले पाल्पादेखि रुकुमसम्मको पहाडी राजमार्गलाई कृष्णसेन आश्रित राजमार्गको नाममा नामाकरण गर्ने समेत बताए। साथै उनले प्रदेश नम्बरको कृष्णसेन इच्छुकको पुख्र्यौली घर सितगंगा नगरपालिका, ८ सातमारामा पत्रकार संग्राहालय बनाउने समेत बताए।
फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले पत्रकारहरूले सत्यतथ्य कुरा मात्र मिडियामा ल्याउनु पर्ने सुझाए। कतिपय मिडिया हाउसहरू शक्तिको आडमा प्रयोग भएको भन्दै त्यसतर्फ पत्रकार महासंघको ध्यान जान जरुरी रहेको उनको आरोप थियो। उनले प्रेसलाई मर्यादित र स्वतन्त्र बनाउन महासंघले भूमिका खेल्नुपर्ने आग्रह गरे। प्रदेश ५ का १२ जिल्लाका पत्रकारको सहभागिता रहेको कार्यक्रम स्थल दाङ, प्युठान, अर्घाखाँची र कपिलवस्तुको संगम स्थल अर्घाखाँचीको शितगंगा ८ जलुकेमा शहीद कृष्णसेन इच्छुकको घरमै पुगेर कृष्णसेन इच्छुकको ब्यक्तित्वको चर्चा गरिएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा संघीयता नआएको बताए। वर्तमान अवस्थामा पनि प्रेस पास नविकरण, संञ्चार माध्यम दर्ता लगायतको कामको लागि काठमाण्डौं जानुपर्ने बाध्यता नहटेको आर्चार्यको भनाइ थियो। उनले सञ्चार क्षेत्रमा पुर्नसंरचना नभएको भन्दै दुःख व्यक्त गरे। यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले न्युनतम पारिश्रमिक लागू नगर्ने सञ्चार माध्यमको सरकारी सुविधा रोक्नुपर्ने माग गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।