|

पर्सा : पर्साको वीरगन्जमा रहेको गण्डक हस्पिटलमा उपचारका क्रममा शिशुको ज्यान गएपछि अस्पताल परिसरमा तनाव सुरु भएको छ। डाइरिया भएर शनिबार तीन–चार बजे हस्पिटलमा भर्ना गराएका डेड वर्षीय शिशु सुजित कुमारको सोमबार नै मृत्यु भएको हुन सक्ने भए पनि मंगलबरा ११ बजेपछि मात्र आफन्तलाई जानकारी दिएपछि अस्पतालमा तनाव भएको हो।

प्रहरीले अस्पताल परिसरमा जम्मा भएका आफन्तलाई लाठी चार्ज गरी बाहिर रोडमा पुर्‍याएको छ। पीडितका तर्फबाट पाँच जना व्यक्ति अस्पताल प्रशासनसँग वार्तामा बसिरहेको समयमा अस्पताल परिसरमा जम्मा भएको आफन्तमाथि प्रहरीले लाठी चार्ज गरेर अझ अवस्थालाई तनाव ग्रस्त बनाएको आफन्तको आरोप छ।

मृतक बच्चाकी हजुरआमा प्रभा देवीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। आन्दोलन गर्न थालेकोले स्थितिलाई नियन्त्रणमा लिन ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले दावी गरे। 

‘हामीलाई हिजो राति ३ पटकसम्म प्रहरी बोलाएर धम्क्याएपछि बच्चाको निधन हिजो नै भइसकेको शंका लागेको थियो। तर आज ११ बजेतिर मात्र बच्चाको निधन भएको कुरा बताए' शिशुका बुबा श्रीराम महतो कोइरीले भने। पर्साको विश्रामपुर वडा नम्बर १ शिवटोलका कोइरीका डेड वर्षीय छोरा सुजितलाई गण्डक अस्पतालका चिकित्सकले हिजो बिहान १३ घण्टा सिरिन्जमा छोडेको ‘मोनो सेफ' औषधि सुईमार्फत हानेको केही बेरमा नै बच्चालाई साह्रो भयो उनले बताए।

उनका अनुसार बच्चाले सुई हान्नासाथ मुखबाट फिंज काड्न थाल्यो अनि डिष्चार्ज गर्न ठिक्क हुदै गरेको बच्चालाई अस्पतालले आइसियुमा लगेको थियो। त्यहाँ लगेपछि कहिले धड्कन नै नभएको कहिले छाती नै सडी सकेको जस्ता कुरा चिकित्सकले आफन्तसँग भन्न थालेका थिए।

सोमबार साँझ ८ बजे, राति १० बजे र १ बजे सुरक्षाकर्मीमार्फत हस्पिटलमा बबाल नगर्न भन्दै धम्क्याउन थालेपछि बच्चाको निधन भएको हुन सक्ने शंका लागेको सुजितका बुबा कोइरीले गहभरी आँसु पार्दै बताए। आइतबार दिन बिहानदेखि नै ठीक भएको बच्चा अरू एक दिन राख्नु पर्छ अस्पताल भनेको उनले बताए। उनका अनुसार सोमबार डिष्चार्ज गर्ने भनेको दुई घण्टा अगाडि मात्र सिरिन्जमा नै छाडेको आधा औषधि पुनः हानेपछि बच्चाको निधन भएको आफन्तको दावी छ।

अस्पतालले भने पीडितका पाँच जना जनप्रतिनिधिसँग अस्पतालका चिकित्सको गल्ती भएको स्वीकारी सकेको छ। तर गल्ती गर्ने चिकित्सकलाई भने कारवाही गर्नुको साटो प्रहरीमार्फत लाठी चार्ज गराएको पीडितको दावी छ। वार्ताका क्रममा गल्ती गर्ने डा. किशोर साहलाई आधा घण्टामा बोलाउने भनेको अस्पतालले उल्टै लाठी प्रहार गराएको मृतकका मामा विक्की महतोले बताए। 

नेकपाका स्थानीय नेता रहबर अन्सारीले संचालन गरेको गण्डक अस्पतालले भने यो  विषयमा संचारकर्मीसँग समेत कुरा गर्न चाहेन। आफ्ना कुरा राख्नसमेत नमानेको अस्पतालले आधा दर्जन पत्रकारले जिम्मेवार व्यक्तिसँग भेट गर्न अनुरोध गरेपछि अस्पतालका मेडिकल अफिसर डा. विकास गुप्ताको मोबाइल नम्बर उपलब्ध गराएको छ। डा. गुप्ताको मोबाइल नम्बरमा सम्पर्क गर्दा अहिले बोल्न फुर्सद नभएको भनी डा. गुप्ता पनि पन्छिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.