|

विराटनगर : विराटनगर १ भट्टाचौकदेखि पूर्व परोपकारघाट जाने बाटोमा विगत ४० वर्षदेखि बस्दै आएका सुकुम्बासीहरूले आफूहरूको उठिबास लगाउने प्रयास भएको गुनासो गरेका छन्।

सो स्थानमा ७ घरमा बस्दै आएका ४९ जनाले सुकुम्बासी समस्या सामाधन आयोगबाट ‘सुकुम्बासी’ परिचय पत्र प्राप्त गरेको भए पनि विराटनगर महानगरपालिकाले विनाविकल्प उठाउन खोजेको गुनासो गरेका हुन्। सुकुम्बासीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै वर्षौदेखि बसोवास गर्दै आएका आफूहरूको बसोबासको बैकल्पिक व्यवस्था गर्न माग गरेका छन्।

‘४० वर्षदेखि परोपकार घाट जाने बाटोमा हामी बसोवास गर्दै आएका छौं’, सुकुम्बासी फारूक सेखले भने, ‘अहिले आएर महानगरपालिकाले एक्कासी रूपमा आएर हामीलाई जग्गा खाली गर्न पत्र काटेको छ। ७ दिनभित्र घर खाली गर्नू भनेर महानगरपालिकाले पत्र काटेको छ। अब हामी कहाँ जाने?’ 

सुकुम्बासीको महानगरपालिकाले उचित व्यवस्थापन गरिदिए घर हटाउन तयार गरेको बताएका छन्। अरूकोमा गएर बनिबुतो गरी  गुजरा गराउँदै आएकी हसिना खातुनले पनि महानगरपालिकाले सुकुम्बासी हटाउन निर्णायप्रति दुःखेसो पोखेकी छन्। ‘दिनभरि अरूकोमा काम गरेर कमाएको १/२ रूपैयाँले परिवार पाल्दै आएका थिएँ। ओत लाग्ने सानो टहरा थियो। अहिले आएर महानगरपाकिाले खाली गर भन्दै छ। यो ठाउँ छोडेर ७ जनाको परिवार कहाँ जानु’, उनले भनिन्।

महानगरपालिकाले हचुवाको भरमा गरेको निर्णय तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन्। वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीले उचित व्यवस्थापबिना जवरजस्ती हटाए प्रतिकारमा उत्रिने उनीहरूले चेतावनी पना दिएका छन्। महानगरपालिकाले २३ असारमा भट्टाचोक पूर्व परोपकार घाट जाने बाटोको जग्गा अतिक्रमण गरी अनाधिकृत रूपमा घर-टहरा निर्माण गरी बसोवास गरी आएको घर ७ दिनभित्र खाली गर्न पत्र काटेको थियो।

पत्रमा महानगरपालिको घरनक्सा शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाको हस्ताक्षर छ। विराटनगर १ का वडाध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता उद्धव अर्यालले सडक अतिक्रमण गरि घर टहराहरू निर्माण गरेकोले सडक विस्तार गर्न महानगरपालिको बोर्ड बैठकले ती टहरा हटाउने निर्णय गरेको बताए।

सुकुम्बासीको नाममा जग्गा भएकाहरूले सडक अतिक्रमण गरी बसोवास गरेको उनको दावी छ। त्यहाँ बसोवास गर्नेहरूको अन्य ठाउँमा पनि १/२ कठ्ठा जग्गा भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.