१५ दिनसम्म अलग्‍गै राख्‍ने ठाउँ खोजिँदै

|

काठमाडौं :  सरकारले कोरोना भाइरसको संक्रमणमा परेको चीनको उहान क्षेत्रमा रहेका नेपालीलाई आवश्यकता अनुसार उद्दार गर्ने भएको छ।

हाल उहान क्षेत्रमा एक सय ९० नेपाली विद्यार्थी रहेका छन्। चीनस्थित नेपाली दुतावासमा सम्पर्कमा आएका उनीहरुबारे चिन्तित रहेको सरकारले जनाएको छ। यो भन्दा अप्ठ्यारो परिस्थिति आएमा उनीहरुलाई उद्धार गरिने सरकारले जनाएको छ। 

तर उनीहरुलाई ल्याएमा राख्‍ने ठाउँबारेमा छफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्लायका प्रवक्ता महेन्द्र श्रेष्ठले उहान क्षेत्रका नेपालीलाई उद्धार गरेर ल्याएपछि सेनाको ब्यारेक जस्तै ठाउँ या अन्य सुरक्षित स्थानमा १५ दिन छुट्टै राख्ने तयारी भएको बताए।

‘उहान प्रान्तको धेरै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ। त्यहाँका १९० नेपाली सम्पर्कमा आउनुभएको छ', उनले भने,'आवश्यक परे उहाँहरुलाई उद्धार गर्छौँ। अहिले यहाँ ल्याएर राख्‍ने ठाउँबारेमा सरकारले गृहकार्य गरिरहेको छ।'

यस्तै शुक्रबारदेखि चीनको स्थल नाका जोडिएको रसुवागढी र तातोपानीमा हेल्थ डेक्स राखिने प्रवक्ता श्रेष्ठले बताए। मन्त्रालयले डा. अमृत पोखरेल र डा गुणनीधि शर्मालाई २ नाकामा शंकास्पद विरामीको उपचार गर्न पठाउने भएको छ।

कोरोना भाइरस संक्रमण जाँचका लागि चीनतर्फको तातोपानी र रसुवा नाकामा स्वास्थ्य टोली राख्‍ने तयारी भइसकेको उनले बताए।

राजधानीमा कोरोना संक्रमितको उपचारका लागि पाँचवटा ‘हब’ अस्पताल र ती अस्पताल मातहतमा १४ वटा ‘स्याटेलाइट’ अस्पतालको तयारी गरिएको उनले बताए। जनचेतना अभिवृद्धिका पर्चा पम्प्लेट तयार पारेको दाहालले जानकारी दिए।

 निशुल्क उपचार

यस्तै हाल टेकु अस्पतालमा कोरोना भाइरसका कुनै पनि शंकास्पद बिरामी नरहेको बताइएको छ। अस्पतालको आइसोलेसन वार्डका एक जना शंस्कास्पद बिरामीको ल्याब परीक्षणबाट कोरोना नेगेटिभ आएको छ।

उनलाई डिस्चार्ज गरिएको अस्पतालका डा. अनुप बास्तोलाले बताए।सरकारले कोरोना भाइरस परीक्षणसहित निशुल्क उपचार गर्ने बताएको छ।

नडराऊँ  तर सचेत बनौँ : चिकित्सक

कोरोना भाइरसबाट डराइ हाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन्। तर सतर्क भने रहनु पर्ने चिकित्सकहरुले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार कोरोना जस्तो सरुवा रोगसँग डराउने भन्दा सचेत रहनु पर्ने बताए।

उनले अहिले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस परीक्षण गर्न आउनेको संख्या बढ्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। ‘चीनको उहान प्रान्तबाट आएकामा रुघाखोकी लाग्यो वा अन्य लक्षण देखियो भने मात्र कोरोना भाइरस परीक्षण गर्नु पर्छ, यही भएकलाई रुवाखोकी लागेमा सामान्य उपचार गर्दा हुन्छ', उनले भने। 

विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। जसमध्ये चीनमा मात्रै २ हजार ७ सय ४१ जना छन् । चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना चीन ‘ट्रान्जिट’ बनाएर यात्रा गर्ने छन् । कोरोना भाइरसबाट संक्रमितमध्ये  भियतनाममा एक जना मात्र मानिसबाट मानिसमा सरेको विश्‍व स्वास्थ्य संगठनले जनाएको छ।

यसरी बच्न सकिन्छ 

बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,

 मास्क लगाएर मात्र हिँड्ने,

 सकभर भीडभाडमा नजाने,

 साबुन-पानीले बारम्बार हात धुने, साबुन-पानी उपलब्ध नभए अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने,

 जीवित वा मृत जनावर तथा नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,

अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र मात्रै खाने

संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,

रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.