स्वार्थको लडाइँले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य : लिङ्देन

|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकताको औपचारिक घोषणा गरिएको छ। बुधबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी दुई पार्टीबीचको एकता घोषणा गरिएको हो। 

घोषणासभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले यसअघि पटकपटक विभाजित भएका आफूहरू अब कहिल्यै नफुट्ने गरी एक भएको भन्दै आजको दिन कोशेढुंगाको रूपमा रहने बताए। 

२०७३ साल फागुनमा भएको एकता महाधिवेशनबाट आफू अध्यक्षमा निर्वाचित भए पनि ६ महिना बित्न नपाउँदै पार्टी पुनः विभाजन हुन पुगेको उल्लेख गर्दै उनले अब त्यस्तो गतिविधि फेरि नदोहोरिने जिकिर गरे। ‘यसपटकको एकता कुनै विदेशीको दबाब र प्रभावमा परेर भएको होइन’ अध्यक्ष थापाले भने, ‘देशको वर्तमान अवस्थाले दुई पार्टीलाई एकतामा पुग्‍न प्रेरित भएको छ।’

नेता राजेन्द्र लिङ्देनले राप्रपाका नेताहरू मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको भन्दै नेतृत्वकै आलोचनासमेत गरे। उनले नेताको स्वार्थको लडाइँले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको उनले जिकिर गरे। अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको समेत बताए।

दुवै पार्टीबीच गत शनिबार राति पार्टी एकीकरण गर्ने सहमति भएको थियो। सहमति पत्रमा राप्रपा अध्यक्ष थापा, राप्रपा संयुक्तका डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले हस्ताक्षर गरेका थिए। एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरू राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.