स्वास्थ्यमा आगामी वर्षको सिलिङ बजेट ५३ अर्ब ८३ करोड

|

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वर्षमा कोरोना नियन्त्रणका लागि १३ अर्ब अतिरिक्त बजेट माग गरेको छ।

मन्त्रालयले कोरोना जस्तै भविष्यमा आउने माहमारी देखिएमा त्यसको नियन्त्रणका लागि अतिरिक्त बजेट मागेको हो।

बिहीबार राष्ट्रिय योजना आयोगको अगुवाईमा  सिंहदरबारमा भएको आगामी वर्षको बजेटसम्बन्धी छलफलमा स्वास्थ्यले कोरोना नियन्त्रणका लागि सिलिङबाहेक अतिरिक्त १३ अर्ब चाहिने खाका प्रस्तुत गरेको हो। प्रस्तावमा योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरू सकारात्मक देखिएको बताइएको छ।

योजना आयोगले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यलाई ५३ अर्व ८३ करोड ५४ लाख रुपैयाँको बजेट सिलिङ पठाएको थियो। त्यसमा स्वास्थ्य बिमा ६ अर्ब ५० करोड र भवन निर्माणका लागि १७ अर्ब छुट्याएको थियो। त्यसबाहेक अरू योजना स्वास्थ्यले आवश्यकताअनुसार बनाउन भनेको थियो।

मन्त्रालय स्रोतले भन्यो, ‘बैठकमा कोरोना महामारी रोक्न विशेष बजेट आवश्यकता रहेको हामीले बताएका थियौँ  योजना आयोग र अर्थका अधिकारीहरुले पनि सकारात्मकरूपमा हेर्नुभएको छ।'

यस वर्ष स्वास्थ्य र शिक्षामा लगानी थप्न योजना र अर्थका अधिकारीहरु सकारात्मक भएको बताइएको छ। जसअनुसार यस वर्ष अन्य मन्त्रालयमा भन्दा स्वास्थ्य र शिक्षामा बजेट धेरै आउने देखिएको बताइएको छ।

 बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसपटक स्वास्थ्य र शिक्षामा बजेट बढ्छ होला योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरूले आउँदो वर्षको बजेट स्वास्थ्यको लगानी वर्षको रुपमा नै आउने भन्नुभएको छ।'

चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट ४२ अर्ब ६७ करोड ९ लाख रुपैयाँ छ। गत वर्षदेखि स्थानीय तथा प्रदेश तहका स्वास्थ्य संस्थाका लागि अर्थले सोझै बजेट पठाउँदा स्वास्थ्य मन्त्रालयको बजेट भोलुम घटेको देखिएको थियो।

चालु वर्षका लागि सरकारले प्रदेशको स्वास्थ्यलाई ४ अर्ब ८७ करोड र स्थानीय तहलाई स्वास्थ्यमा २१ अर्ब १३ करोड रुपैयाँ छुट्याएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.