|

चौतारा : कोरोना भाइरस संक्रमण आशंकामा परीक्षण गरिएका जिल्लाका १५१ जनामा संक्रमण नभएको पाइएको छ।  विश्वभर फैलिएको भाइरस संक्रमणको लक्षण मिलेका र विदेशबाट फर्किएकाहरूमा संक्रमण नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार १ सय ४३ जनाको र्‍यापिड टेष्टबाट र आठ जनाको स्वाव परीक्षणबाट भाइरस संक्रमण नभएको पुष्टि भएको हो। बिहीबार झण्डै एक दर्जन स्थानमा एक सय बढीको र्‍यापिड टेष्ट गरिएको र सबै परीक्षण नेगेटिभ पाइएको कार्यालयले जनाएको छ।

चैत महिनामा विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरूमा परीक्षण गरिएको थियो। सबैभन्दा बढी विदेशबाट फर्किएका मेलम्चीमा २७ जनामा एकै दिन परीक्षण गरिएको र सबै नतिजा नेगेटिभ रहेको मेलम्ची ११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले जनाकारी दिए।

विदेशबाट फर्किएका र संक्रमणको जोखिममा रहेका बलेफी गाउँपालिकाको सातै जनामा संक्रमण नभएको परीक्षणले देखाएको बलेफी ८ का अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार सातैजना गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेका छन्।

सनसिटीबाट आएका ११ जना सुरक्षित

ग्त मंगलवार कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको सनसिटी एपार्टमेन्टमा बसोबास गर्ने जिल्लाका सबैको परीक्षण गरिएको छ। सनसिटीमा बस्ने र आवतजावत गरेका जिल्लाका ११ को र्‍यापिड परीक्षणमा सबैको नतिजा नेगेटिभ देखाएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिए।

‘काठमाडौं सनसिटीको सम्पर्कमा भएका सबै क्वारेन्टाईनमा बसेका छन्, पहिलो परीक्षणले संक्रमण देखिएको छैन,’ अधिकारी तिवारीले भने,  ‘संक्रमणको जोखिममा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।’ काठमाडौंको सनसिटी एपार्टमेन्टमा बस्ने दुई जनामा केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो।

२७ जन क्वारेन्टानमा, ५६ घर फर्किए

बिहीबारसम्ममा जिल्लाभर २७ जना क्वारेन्टाइनमा बसेका छन्। बुधबार १८ जना थिए भने बिहीबार एकैदिन ९ जना थपिएका छन्। लकडाउन उल्लंघन गरी क्वारेन्टाइन पुर्‍याइएका  र संक्रमण परीक्षणले नेगेटिभ नतिजा देखाएका ५६ जना घर फर्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हालसम्म ८३ जनाले क्वारेन्टाइन सेवा लिएका छन्। आठ जना आइसोलेसनमा उपचार गरी फर्किएका छन्। आइसोलेसनमा रहेका सबैको स्वाव परीक्षणमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि घर फर्किएका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जनाकारी दिए। चापागाईंका अनुसार बिहीबारसम्म जिल्लामा भाईरस संक्रमणको लक्षण भएका बिरामी छैनन्।

४७१ क्षमताको क्वारेन्टा, ४२ वेडको आसोलेसन

साबिकको तीन निर्वाचन क्षेत्रअनुसार जिल्ला समन्वय समितिको समन्वयमा जिल्लामा तीन वटा क्षेत्रीय क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिएको छ। १२ वटा स्थानीय तहले पनि क्वारेन्टाइन निर्माण गरेका छन्।

जिल्लामा बिहीबारसम्म ४७१ जना क्षमताको क्वारेन्टाइन रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तिवारीले जनाएका छन्। चौतारा, मेलम्ची र बाह्रविसे नगरपालिकाले व्यवस्थापन गर्नेगरी तीन क्षेत्रीय क्वारेन्टाइन सञ्चालनमा छ।

योसँगै हेलम्बु गाउँपालिकाले १७५ क्षमताको क्वारेन्टाइन निर्माण गरेको जानकारी पठाएको तिवारीले बताए। तिवारीका अनुसार कतिपय क्वारेन्टाइन मापदण्डअनुरूप नभएकोले तत्काल त्यसको मापदण्ड पुर्‍याउन स्थानीय सरकारसँग समन्वय गरिएको उनको भनाइ छ।

मेलम्ची नगरपालिकाले सम्‍भावित जोखिम आँकलन गरी बिहीबार मात्र ४१ वेड क्षमताको क्वारेन्टाइन थप गरिएको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए।

 भोटेकोशीको सवा करोड

यस्तै, भोटेकोशी गाउँपालिकाले आफ्नो वार्षिक बजेटको अन्य शीर्षक कटौती गरी सवा करोडको प्रकोप व्यवस्थापन कोष निर्माण गरेको जनाएको छ। गाउँपालिकाले वार्षिक बजेटको विभिन्न शीर्षकबाट १ करोड १० लाख र प्रदेश सरकारको १० लाख गरी १ करोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गरिएको जनाएको हो।

प्रकोप व्यवस्थापनमा बाह्र स्थानीय तहमध्ये भोटेकोशीले सबैभन्दा बढी रकम छुट्याएको छ। सरकारको निर्णय अनुसारका ६ वटा  शीर्षकबाट  रकामान्तर गरिएको  गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

‘प्रकोप व्यवस्थापन कोषमा भ्रमण, खेलकुद, उत्सव तथा महोत्सव, एम्बुलेन्स खरिद, घुम्ती शिविर सञ्‍चालक कार्यक्रम, गुरुयोजना तथा डिपिआर तयारलगायतका शीर्षकबाट रकामान्तर गर्ने गाउँसभाले निर्णय गरेको छ,’ अध्यक्ष पौडेलले भने , ‘प्रदेश सरकारबाट प्राप्त हुने १० लाख गरी १ करोड २० लाखको कोष निर्माण गर्ने निर्णय गरिएको हो।’

गाउँपालिकाले लकडाउन अवधिभर  श्रमिक, विपन्न परिवार, अपांग, एकल महिलालाई खाद्यन्न राहत उपलब्ध गराउने जनाएको छ।  प्रतिपरिवार ३० के.जि चामल २ के.जि दाल, २ के.जि नुन, २ लिटर तेल लगायतका सामाग्री उपलब्ध गराउने पालिका प्रमुख पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.