जोन छुट्याउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

|
फाइल फोटो

काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि चैत ११ गतेदेखि लागु गरिएको लकडाउन ४३औँ दिनमा पुगिरहँदा यसको स्वरुप फेर्नु पर्ने दबाब सरकारमाथि बढ्दै गएको छ।

गत माघदेखि नेपालमा देखिएको कोरोनाको सामुदायिक संक्रमण हालसम्म दुई जिल्ला उदयपुर र बाँकेमा भएको छ। यो भनेको कोरोना संक्रमणको तेस्रो अर्थात खतरनाक अवस्था हो।

लकडाउनकै कारण कोरोना नफैलिएको निचोड सरकारले निकालिरहँदा परीक्षणको गति भने अत्यन्तै सुस्त छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबारसम्म मुलुकभर ६६ हजारभन्दा बढी कोरोना परीक्षण गरिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडीटी) मार्फत ५२ हजार २ सय २७ वटा कोरोना परीक्षण भएको जनाएको छ। तर अर्कातिर कोरोना पत्ता लगाउने सबैभन्दा भरपर्दो आरटी-पिसिआर विधिमार्फत हालसम्म १३ हजार ८ सय ५० वटा मात्रै परीक्षण भएको छ।

एकातिर परीक्षण सुस्त छ भने अर्कातिर पिसिआर परीक्षण हुने ल्याब बन्द छन्। किट र रिएजेन्ट अभावमा चितवन, भैरहवा, प्रदेश २ र वीर अस्पतालमा पिसिआर परीक्षण नै रोकिएको छ।

यस्तोमा देशभर हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। बाँकेको नेपालगञ्‍जमा मात्रै पछिल्लो केही दिनभित्र २३ जना संक्रमित भेटिएका छन्। जहाँ अझै पनि संक्रमित रहेको अनुमान गरिएको छ। तर पिसिआर परीक्षणको गति भने अत्यन्तै सुस्तछ। 

अबको लकडाउन कस्तो? 

४३ दिनदेखि जारी लकडाउनका कारण मजदुर र सर्वसाधरणको उठिबास भइसकेको छ। कयौँ कलकारखाना र उद्योग बन्द हुँदा सबैभन्दा चर्को मार श्रमिक वर्गलाई परेको छ।

एकातिर पिसिआर परीक्षणको गति सुस्त, अर्कातिर लकडाउन लम्बिएको लम्बियै। लकडाउन थपेसँगै परीक्षणको दायरा बढाउन सरकारमाथि दबाब परिरहेको छ। तर सरकारले नेपाली सेना र अन्य माध्यमबाट ल्याउने भनिएको स्वास्थ्य सामग्री अझै ल्याउन सकेको छैन। यसअघि ओम्नी समूहले ल्याएका किटसहितका स्वास्थ्य सामग्री नै कम गुणस्तरका भएकाले विवादमा परेका थिए। 

यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले रेड, एल्लो र ग्रीन गरी तीन समुहमा विभाजन गरेर लकडाउनलाई अघि बढाउनुपर्ने प्रस्ताव उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसमक्ष गरेको थियो।

जस अनुसार कोरोना देखिएका क्षेत्रलाई रेडजोनामा राख्‍ने तयारी थियो। त्यसपछि कोरोना देखिएका क्षेत्रसँग सीमा जोडिएकालाई एलो जोनमा राख्न लागिएको थियो। कोरोना देखिँदै नदेखिएका क्षेत्रलाई ग्रिन जोनमा राख्‍न प्रस्ताव भएको थियो। मंगलबार बसेको समितिको बैठकमा पनि उक्त प्रस्तावबारे छलफल भएको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएर मंगलबार अपरान्ह बालुवाटारमा बसेको उच्चस्तरीय समितिको बैठक लकडाउनको मोडालिटीबारे अनिर्णित बनेको छ। कम्तीमा एक साता थप्‍ने निचोड निकालिए पनि त्यसको जिम्मा मन्त्रिपरिषद्‍लाई नै दिने निर्णय समितिले गरेको छ। 

प्रधानमन्त्रीद्वारा अस्वीकार

लकडाउन लम्बिँदै गर्दा बढिरहेको जनआक्रोशलाई सम्बोधन गर्न समितिले यसको स्वरुप फेर्ने प्रस्ताव अघि बढाएको थियो। तर प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्रगतिमा फैलिइरहेको भन्दै लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्नु उचित नहुने बताएका छन्। 

बालुवाटारमा बसेको बैठकमा समितिका तर्फबाट मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना संक्रमण समुदायसम्म पुगेको क्षेत्रमा रातो, थोरै देखिएको ठाउँमा पहेंलो र संक्रमण देखिँदै नदेखिएको क्षेत्रलाई हरियो तोकेर लकडाउन बढाउनुपर्ने प्रस्ताव गरेका थिए।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले बनाएको कार्ययोजना अनुसार भारत र चीनसँग सीमा जोडिउका जिल्लाका आधारमा पनि लकडाउनको रणनीति बनाउन आवश्यक रहेको उल्लेख गरेका थिए।

तर बैठकमा सहभागी समितिका सदस्य एकजना मन्त्रीका अनुसार क्षेत्रगत विभाजनको यो प्रस्ताव मान्‍न प्रधानन्त्री तयार भएनन्। उनको तर्क थियो, 'भारतमा कोरोना दिनदिनै फैलिँदै गएको छ, त्यहाँको सबैभन्दा पहिलो असर त हामीलाई नै पर्छ। त्यसैले लकडाउनलाई अझै कडा बनाउनुपर्छ।'

लकडाउन कडा बनाउनुपर्ने अर्को तर्क दिँदै प्रधानमन्त्रीले भने, 'हामीकहाँ पर्याप्त परीक्षण भएकै छैन। परीक्षण नै राम्ररी भइनसकेको अवस्थामा जोन छुट्यायएर जाँदा आइ पर्न संकटको सामना गर्न सकिँदैन। अहिलेलाई लकडाउन कडा पार्न छाडेर अर्को विकल्पमा जान सकिँदैन।'

प्रधानमन्त्रीले लकडाउनको स्वरुप फेर्न अस्वीकार गरेपछि समितिले यसबारे गोलमोटोल प्रस्ताव बनाएको छ। लकडाउनको स्वरुप र थप्‍ने समयबारे बुधबारै बस्‍ने मन्त्रिपरिषद्‍बाट निर्णय लिइने भएको छ। 

गृहमन्त्री भन्छन् : खुकुलो बनाऊँ 

प्रधानमन्त्री ओलीले लकडाउन कडा बनाउने पक्षमा अडान लिइरहँदा उनकै क्याबिनेटका एकजना सदस्य गृहमन्त्री रामबहादुर थापा 'बादल'ले भने यसरी नै लकडाउन जारी रहे जनतामा तीव्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन्। 

लकडाउनका कारण विश्‍वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले नेपालमा यसलाई खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताएका हुन्।

उत्पादन र सेवाका क्षेत्रहरु निश्‍चित सर्तसहित खोल्न नसके कोरोनाभन्दा ठूलो संकट पैदा हुने उनको भनाइ छ। संसदको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा मंगलबारै बोल्दै थापाले यस्तो कुरा बताएका हुन्।

'कोरोना संकटलाई तोड्न विश्‍वले लकडाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ। तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्‍चित सर्तसहित सामाजिक दुरी कायम गरेर लकडाउन खोल्नुपर्छ', उनले भने, 'लकडाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन। आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ।'

थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायम गर्दै सुचारु गर्नुपर्नेमा जोड दिए। आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडि बढ्नुपर्ने थापाले बताए। 

बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उनले उल्लेख गरे। समिति बैठकमा लकडाउन खुलुलो पार्नुपर्ने उल्लेख गरे पनि थापाले मोडालिटी र सर्तबारेमा भने केही पनि बताएनन्। 

लकडाउन लम्बिन्छ : बिडारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले पनि लकडाउन लम्बिने बताएका छन्। उच्चस्तरीय समितिको मंगलबार बालुवाटारमा बसेको बैठकपछि उनले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णय सही रहेको निष्कर्षसहित लकडाउन लम्ब्याउने तयारी भएको बताए। 

लकडाउन कति समय थप हुन्छ भन्‍ने केही नभने पनि उनले ‘लम्बिन सक्छ’ भने।  नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्‍न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने निचोड निकालिएको उनले बताए। 

बुधबार बस्‍ने मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे थप छलफल र निर्णय हुने उनले उल्लेख गरे। 'अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ', उनले भने, 'लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्‍न सफल भएको निष्कर्ष बेठकले निकालेको छ। यसबारे निर्णय भोलिको मन्त्रिपरिषद्ले लिनेछ।'

भारतको अवस्था 

प्रधानमन्त्री ओलीले दाबी गरे जस्तै खुल्ला सिमाना जोडिएको भारतमा बितेका २४ घण्टाभित्र कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्याले रेकर्ड तोडेको छ।  
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ यो अवधिमा ३,९०० जना नयाँ संक्रमित भेटिएका छन् भने १९५ जनाको ज्यान गएको छ। भारतमा लकडाउन खुकुलो भारतमा एकैदिनमा भेटिएका कोरोनाका नयाँ संक्रमित र ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्मकै धेरै हो।  

हालसम्म भारतमा ४६,४७६ जना कोरोना संक्रमित पहिचान भएका छन् भने १,५७१ जना संक्रमितको मृत्यु भएको छ।  भारत सरकारले मार्च २५ तारिखदेखि लगाएको लकडाउन गत साता (मार्च २५) देखि केही खुकुलो पारेको थियो। 

लकडाउन खुकुलो पारिएपछि दिल्लीका मदिरा पसलमा लाइन साना पसलहरु खोल्न अनुमति दिइएको छ भने रक्सी पसलहरुमा हजारौं मानिसको भीडभाड देखिएको छ।  भारतमा लकडाउनको म्याद आगामी १७ मे सम्मका लागि थप गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.