पौडेल र पोखरेलको लागि जुँगाको लडाइँ बन्दै अधिवेशन !

|

काठमाडौं : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ। 

सकेसम्म निर्वाचन नचाहने एमालेमा लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयन गर्न भने निर्वाचनकै साथ लिनुपर्ने भयो। यसबाट गुटरहित पार्टी एकताको नारा लगाउने एमालेमा पनि भित्रभित्रै गुट रहेको स्पष्ट हुन्छ। 

एमालेको दशौं महाधिवेशनमा पनि निर्वाचन नगराउन एमाले अध्यक्ष केपी शर्मा ओलीले हरसम्भव प्रयास गरेका थिए। निर्वाचन टार्नैको लागि ओलीले अधिवेशन नै केही दिन लम्ब्याएका थिए। तर, भीम रावलले उनीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न कुनै हालतमा पछि नहट्ने बताएपछि अन्तिम समयमा निर्वाचन भएको थियो। त्यही झल्को यतिबेला लुम्बिनी प्रदेश कमिटीले दिइरहेको छ। 

माधव नेपालसहितका नेता पार्टी छोडेर गएपछि एमालेमा कुनै गुट नरहेको नारा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले लगाउँदै आएका छन्। तर,पछिल्लो समय एमालेमा गुट झांगिँदै गएको छ। जसको नतिजास्वरूप लुम्बिनी प्रदेशको नेतृत्व चयनमा देखिएको छ। 

लुम्बिनी प्रदेशको अधिवेशन शनिबारबाटै सुरु भइसकेको छ। शनिबार र आइतबारको लागि तोकिएको अधिवेशन सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा लम्बिन पुग्यो।

सोमबार पनि अन्तिम समयसम्म सर्वसम्मत रूपमा नेतृत्व चयनको लागि प्रयास भने भइरहेको छ। केन्द्रीय नेताहरू लुम्बिनी नै पुगेर सहमति जुटाउन प्रयासरत छन्।  

दुवै उम्मेदवार पछि नहट्ने अडानमा

तर, एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वको लागि राधाकृष्ण कँडेल र हरि रिजाल कुनै पनि हालतमा पछि नहट्ने अडानमा छन्। उनीहरूको अडानको कारण निर्वाचनको प्रक्रिया हिजो साँझदेखि नै सुरु भइसकेको छ। 

प्रतिस्पर्धा कँडेल र रिजालबीच हुन लागेको भए पनि एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको चुनावजस्तो देखिएको छ।
 

लुम्बिनी प्रदेश कमिटीको अधिवेशन उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको लागि जुँगाको लडाइँ बनेको छ। पार्टीमा कुनै गुट नरहेको धावा बोल्ने उनीहरु आफैँ खुलेरै गुट चलाइरहेका छन्। 

मैदानमा देखिएका आकांक्षीमा कँडेल पौडेलनिकट हुन् भने रिजाल महासचिव पोखरेलनिकट हुन्। दुवै गुटले छुट्टाछुट्टै भेला चलाउँदै आएका छन्। अहिले राधाकृष्ण कँडेल प्रदेश अध्यक्ष छन् भने उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ छन्। 

ओलीको निर्देशनविपरीत निर्वाचन

शनिबार भएको अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीले सहमतिमा नेतृत्व टुंग्याउन मञ्चबाटै निर्देशन दिएका थिए। ‘सबै सहमतिमा बाहिर आउनुपर्छ, तपाईंहरू टुंग्याउनुहोस्। यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर नआओस्' ओलीले भनेका थिए। 

ओलीले भनेजस्तै उपाध्यक्ष पौडेलले पनि सहमतिमै नेतृत्व टुंग्याउनु राम्रो हुने बताए। ‘शंकर पोखरेल र मेरो कुनै गुट छैन। गुटबन्दी मूर्दावाद, पार्टी एकता जिन्दावाद!’, पौडेलले भनेका थिए।  

महासचिव पोखरेलले पनि गुटबन्दी नगर्न आग्रह गरेका थिए। तर, उपाध्यक्ष पौडेलले जस्तै महासचिव पोखरेलले पनि नामै तोकेर गुटबन्दी नरहेको बताए।

‘लुम्बिनीमा मात्रै नभएर सबै विषयमा विष्णु पौडेलशंकर पोखरेल एक ठाउँमा छन्, शंका गर्नु पर्दैन’ पोखरेलले भनेका थिए। 

ओली, पौडेल र महासचिवको अभिव्यक्ति एउटै आउनुबाट नै एमालेमा गुटगत रूपमा आन्तरिक प्रतिस्पर्धा भइरहेको त्यतिबेलै पुष्टि हुन्थ्यो। 

सार्वजनिक अभिव्यक्ति जस्तोसुकै दिए पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेल आफैँले पनि निकट रहेका नेतालाई प्रदेशको नेतृत्वमा लैजान भने जोडतोडले लागिरहेका छन्। 

पुरानै प्रतिस्पर्धी

साबिक लुम्बिनी अञ्चल छँदै त्यहाँको एमालेको राजनीति विष्णु पौडेल भर्सेस शंकर पोखरेलजस्तो देखिँदै आएको छ। एमाले लुम्बिनी प्रदेशमा विगतदेखि नै पौडेलपोखरेल एकभन्दा अर्को बलियो बन्ने दौडमा प्रतिस्पर्धीको रूपमा चिनिँदै आएका छन्। 

नवौँ महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपमहासचिवमा पोखरेलपौडेलले उम्मेदवारी दिएका थिए। पौडेल उपमहासचिव निर्वाचित हुँदा पोखरेल पराजित हुन पुगे।

त्यतिबेला पोखरेललाई प्रतिस्पर्धी ठानेका पौडेलले हाल एकीकृत समाजवादीका महासचिव रहेका घनश्याम भुसाललाई सघाएको आरोप पनि लाग्यो।

गत निर्वाचनमा पनि लुम्बिनी प्रदेशको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार तय गर्दा पनि उनीहरूबीच टकराव देखिएको थियो। त्यसको असर निर्वाचन परिणाममा पनि परेको एमालेका नेताहरूको बुझाइ छ।

उनीहरूबीच विगतदेखि अहिलेसम्म पनि प्रतिस्पर्धा नै देखिन्छ। प्रदेशको अधिवेशनमा एमाले अध्यक्ष ओली खेमाकै दुई गुट मैदानमा देखिएका छन्। 

एघारौ महाधिवेशनको तयारी

पौडेलपोखरेलले प्रदेश कमिटीमा आफ्नो वर्चश्‍व कायम गर्दै पार्टीको एघारौँ महाधिवेशनमा पार्टी नेतृत्वमा पुग्ने तयारीका रूपमा अगाडि बढाएका छन्।

दुईपटक नेतृत्व गरिसकेका एमालेको वर्तमान अध्यक्ष ओली उमेर हदको कारण अर्को महाधिवेशनबाट पुनः दोहोरिन सक्ने अवस्था कम देखेपछि पौडेलपोखरेलले आफूलाई पार्टीको आगामी अध्यक्षको रूपमा अघि सार्न खोजेका छन्। 

पार्टीको भावी नेतृत्व गर्ने योजनासहित उनीहरू यतिबेला आफ्नो वर्चश्व बढाउनको लागि गुट चलाइरहेका छन्।

स्थानीय स्तरदेखि नै बलियो बन्दै पार्टीको नेतृत्वमा दाबी गर्ने उद्देश्यसहित उनीहरूमा खुलेरै गुटसहित मैदानमा उत्रिएको एमाले नेताहरू बताउँछन्। 

पार्टीमा गुट हुनु स्वाभाविक : कँडेल

एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वको दौडमा रहेका राधाकृष्ण कँडेल पार्टीमा गुट हुनु स्वाभाविक भएको बताउँछन्। पार्टीको सिद्धान्त एउटै भए पनि सबै नेताको मन नमिल्ने हुँदा गुट हुनु स्वाभाविक रहेको कँडेलले बताए। 

‘पार्टी भएपछि अलीअली गुट हुनु स्वाभाविक हो। लोकतन्त्रमा प्रतिस्पर्धा हुनु र निर्वाचन हुनु राम्रो कुरा पनि हो’,उनले भने। 

यसअघि, आठौंनवौँ महाधिवेशनमा पनि निर्वाचनबाटै नेतृत्व चयन भएको भन्दै अहिलेको प्रदेश अधिवेशनको निर्वाचनलाई फरक ढंगले हेर्न नहुने उनको भनाइ छ। 

नेतृत्वले अस्वस्थ गतिविधि बढाउनु हुँदैन : शाक्य

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रीय नेताहरूले हस्तक्षेप गर्न नहुने बताउँछिन्। ‘प्रदेशको अधिवेशनले नेतृत्वले हस्तक्षेप गरेर अस्वस्थ गतिविधि बढाउनु हुँदैन। उहाँहरूलाई आफ्नै ढंगले नेतृत्व चयन गर्न दिनुपर्छ’,शाक्यले भनिन्। उनले पार्टीमा चलखेल गरेर नतिजा आफूमुखी बनाउन खोज्दा पार्टी कमजोर बन्न पुग्ने भन्दै त्यस्तो नगर्न आग्रह गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.