|

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सशस्त्र प्रहरीलाई न्यूनतम सेवा सुविधा दिन सरकारसँग आग्रह गरेका छन्।

मुख्यमन्त्री यादवले सशस्त्र प्रहरीले न्यूनतम सेवा सुविधा दिन नपाएको भन्दै त्यसका लागि संघीय सरकारलाई आग्रह गरेका हुन्।

मुख्यमन्त्री यादवले भने‚ ‘सशस्त्र प्रहरीले न्यूनतम सेवा सुविधा समेत पाएको छैन। त्यसका लागि संघ सरकारलाई आग्रह गर्छु।'

उनले शान्ति सुरक्षाका लागि आवश्यक स्रोत साधन प्रदेश सरकारले समेत उपलब्ध गराउने आश्वासन पनि दिए। उनले भने‚ 'प्रदेश सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्न तयार छ।'

यसैगरी उनले प्रदेशको शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे।

शनिबार सशस्त्र प्रहरी बलको नं. २ छिन्नमस्ता वाहिनी बर्दिवासमा आयोजित २२ औं स्थापना दिवसमा मुख्यमन्त्री यादवले बताएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवासका वाहिनीपति डीआईजी दीपेन्द्र शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रसाद गौतम, मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर, प्रदेशसभा सदस्य शारदा थापा सहित सुरक्षानिकायका प्रमुखहरू, समाजसेवी, उद्योगी उपस्थित थिए।

कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई मेडल‚ ट्रफी एवं उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.