प्रदेश प्रहरी स्थापनाको बाटो खुल्यो
प्रदेश प्रहरी स्थापनाको बाटो खुल्यो
हेटौंडा : बागमती प्रदेशसभाले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार पारित भएको छ। विधेयक सर्वसम्मत पारित भएको हो।
आइतबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले प्रदेश मामिला समितिको प्रतिवेदनसहितको प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए। विधेयक पारित भएसगै बागमती प्रदेश सरकारलाई प्रदेश प्रहरी स्थापनाको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बनाएको विधेयकमा बागमती प्रदेश मामिला समितिले लामो छलफल पछि प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदन अनुसार समितिमा मन्त्रालयबाट आएको विधेयकमा २४ बुँदामा संशोधन भएको थियो। उक्त प्रतिवेदन अनुसार अब बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्नेछ।
विधेयकको बुँदा नम्बर दुई अन्तर्गत दफा ७ को उपदफा ६ मा भनिएको छ, ‘जिल्ला भित्र शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सम्बन्धित जिल्लाको प्रदेश प्रहरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्नेछ। र, परिचालन गरेको अवस्थामा प्रजिअको प्रत्यक्ष निगरानीमा प्रदेश प्रहरीले काम गर्नुपर्दछ।’
यस्तै बागमती प्रदेश प्रहरीको छुट्टै लोगो हुनेछ। विधेयकको दफा ९ को उपदफा २ अनुसार ‘बागमती प्रदेश प्रहरीको लागि दज्र्यानी चिन्ह र प्रदेश प्रहरीको चिन्ह(लोगो)’ भनेर उल्लेख गरिएको छ।
यस्तै आइतबार नै भएको प्रदेश सभाको विशेष समयमा बागमती प्रदेश भरि भएका विविध घटनाबारे प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।