|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उनको पार्टीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ।

कांग्रेसले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँगेर आचारसंहिताको उल्लंघन गरेको हो। कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको बजारमा चार तारे झण्डा टाँगेर बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको छ।

निर्वाचन आचारसंहिताको राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नुपर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ।

तर, कांग्रेसले बागबजारको सडकमाथि ठाउँठाउँमा पार्टीको झण्डा टाँगेको छ। शनिबारसम्म जिल्लाका अन्य राजनीतिक दलहरूले भने बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँगेका छैनन्।

यस विषयमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर हटाउन प्रयास गर्ने बताए।

‘यदि झण्डा टाँगिएको छ भने म मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउँछु। उहाँहरूले अनुगमन गर्नुहुन्छ,’ प्रजिअ जोशीले भने, ‘मेरो तर्फबाट झण्डालाई हटाउन प्रयास गर्छु।’

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले भने यसबारेमा उजुरी नपरेको तर परेमा निर्वाचन आयोगलाई लेखी पठाउने बताए। ‘आचारसंहिताले बजार क्षेत्रमा झण्डा राख्न पाइँदैन। उजुरी परेको खण्डमा प्रमाणसहित आयोगलाई पठाउँछौँ,’ उनले भने, ‘उजुरी नपरेसम्म त के गर्नू।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको झण्डा हटाउन मिल्दैन? भन्ने थाहा खबरको प्रश्नमा शर्माले भने, ‘हामीले हेर्छौं तर तपाईंहरुको जसरी बोल्न मिल्दैन। यो कुरा स्पस्ट बुझ्नुहोस्। तपाईंहरुको जस्तो कमल हाम्रो स्वतन्त्र छैन। उजुरी परेमा प्रमाणसहित आयोगलाई पठाउँछौँ। स्थानीय राजनीतिक दलको अनुगमन समिति पनि छ।​'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.