|

दाङ : नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतको केन्द्रीय आयुर्वेद विद्यापीठ (बिएएमएस) कलेज बेलझुण्डी दाङमा स्वतन्त्र विद्यार्थी सङ्गठनले फेरि प्रशासनमा तालाबन्दी गरेको छ।

बिएएमएस कलेजमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि निरन्तर खेलवाड हुँदै आएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।  विभिन्न ६ वटा मागहरू राखेर प्रशासनमा गत फागुन २९ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले तालाबन्दी गरेको छ।

शिक्षण अस्पताल तत्काल सुचारु गर्नुपर्ने,  धन्वन्तरि र सरस्वतीको मूर्ति तत्काल  निर्माण गर्नु पर्ने, पुस्तक, शैक्षिक सामाग्रीहरू खरिद तथा इन्टरनेटको व्यवस्था तत्काल गर्नुपर्ने, स्कलरसिपका विद्यार्थीहरूको इन्टर्नसिपको भत्ता ६ महिना पुगिसक्दा पनि नपाएको  हुँदा तत्काल उपलब्ध गराउनुपर्ने, लगायतका माग राख्दै  गत फागुन २९ गतेदेखि तालाबन्दी गरिएको हो।

विद्यार्थीहरूले पाउनुपर्ने आधारभूत कुराहरूको हकहितको लागि बाध्य भएर तालाबन्दी गरेको आयुर्वेद विद्यापीठका स्ववियु सचिव गणेश पौडेलले बताए। 

उनले भने, ‘विद्यार्थीहरूको माग जोडिएको विषय भएको हुँदा तालाबन्दी गर्न बाध्य भयौँ। कलेज सञ्चालनको लागि आफ्नै शिक्षण अस्पताल हुनुपर्छ। तर, अहिलेसम्म त्यो भएको छैन्। अहिले हामीहरू बाहिर भाडामा गएर सिक्दै आएका छौँ।’

उनका अनुसार आयुर्वेद विद्यापीठमा पढ्दै आएको र सिक्नको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय  बिजौरीमा जानुपर्ने हुन्छ। यदि त्यहाँ कुनै कारणले सम्झौता बिग्रिएको खण्डमा यहाँ पढ्न विद्यार्थीहरूले सिक्न नपाउने हुँदा पटक-पटक शिक्षण अस्पतालको माग उठाउँदै आइरहेको उनको भनाइ  छ।

यस्तै, उनले ४ जना स्कलरसिपका आएका विद्यार्थीहरूले मासिक रूपमा २१ हजार ४ सय पाउनु पर्नेमा ६ महिना बितिसक्दा पनि अहिलेसम्म नपाएको भन्दै त्यो तत्काल पाउनुपर्ने आफूहरूको माग रहेको पनि बताए।

यस्तै, यो वर्षमा पुस्तक खरिद गर्नुपर्नेमा अहिलेसम्म कति पनि नभएको उनको भनाइ छ। उनले भने, ‘अहिले अस्पताल भन्ने गरेको भए तापनि यो देखाउनको लागि मात्र हो। हामीले यहाँ पढेर बिजौरी सिक्न जानुपर्ने बाध्यता छ।’

यस्तै विद्यार्थी कल्याणकारी कोषको रकम र विद्यार्थी प्राथमिक उपचारबाट लिइने रकमबाट स्वास्थ्य बिमा गर्नुपर्ने, विद्यापीठमा बुझाउने शैक्षिक शुल्कहरुलाई विद्यापीठबाटै ई-बैंकिङ माध्यमबाट बुझाउने प्रबन्ध गर्नुपर्ने र नवौँ ब्याजको कक्षा तालिका  साढे १० बजेदेखि सुरु हुनुपर्ने माग राख्दै तालाबन्दी गरिएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.