|

काठमाडौँ : सत्ता साझेदार दलहरूबाट ‘अपमानित भइयो’ भन्ने नेकपा एकीकृत समाजवादीको गुनासो नयाँ होइन। २०७९ मंसिरमा सम्पन्न आम निर्वाचनपछि सोही वर्ष फागुनमा फेरिएको वाम–लोकतान्त्रिक गठबन्धनमा रहँदा होस् वा वर्तमान सत्ता समीकरणमा होस् नेकपा एसले उही पुरानै ‘अपमानित भइयो’ को राग अलापिरहेको छ। 

५ पुस ०७७ र ८ जेठ ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि त्यसविरुद्ध एक भएका दलहरूसँगको सहकार्यमा पनि आफ्नो भूमिकाको अवमूल्यन भएको नेकपा एसको गुनासो थियो।

माधव नेपालले नेकपा एमाले फुटाएर बनाएको नेकपा एसले त्यस वेला गठबन्धन सरकार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको थियो। 

९ भदौ ०७८ मा निर्वाचन आयोगबाट औपचारिक रुपमा दलको मान्यता पाएको नेकपा एस त्यसयता निरन्तर गठबन्धनमार्फत सत्तामै रहँदै आएको छ।

२१ फागुन ०८० मा बनेको गठबन्धनमा दुई दिनपछि (२३ फागुनमा) सामेल भएको उसले अहिले पनि एमाले र माओवादीले आफूमाथि विभेदपूर्ण व्यवहार गरेको भन्दै गुनासोमात्र होइन रोषसमेत प्रकट गर्दै आएको छ। 

विभेदपूर्ण व्यवहार र भागबन्डाको विषयमा नेकपा एसको गुनासो र असन्तुष्टि अहिले पनि यथावत् छ। भागबन्डामा बलियो दावी प्रस्तुत गर्ने गरेको नेकपा एस आफ्ना शर्त पूरा नभए जुनसुकै कदम चाल्नसमेत तयार हुने गरेको छ।   

यही १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेशसभा १ मा नयाँ गठबन्धनका तर्फबाट आफूले उम्मेदवार उठाउन पाउनुपर्ने उसको माग थियो तर एमाले–माओवादी तयार नभएपछि पूरा भएन। त्यससछि उसले बझाङमा मात्रै नभई इलाम–२ मा पनि आफ्नै उम्मेदवार अघि सार्‍यो। 

राष्ट्रियसभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दावी पनि नेकपा एसको थियो तर एमाले उसलाई उपाध्यक्ष छाड्न तयार भएन। बागमती सरकारको नेतृत्व पाउनुपर्ने पनि उसको दावी थियो‚ त्यो पनि माओवादी पछि नहटेपछि अपूरो नै भयो।  

एकपछि अर्को आफ्नो माग पूरा नभएपछि रुष्ट बनेको नेकपा एसले एउटा प्रदेशको मुख्यमन्त्री पाउने संभावना पनि टरेपछि विपक्षी गठबन्धन बनाउने चेतावनीमात्र दिएन, सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकारमा दावी नै पेश गर्‍यो।

१९ चैतमा सुदूरपश्चिमको मुख्यमन्त्री पाउने सहमति बनेपछि मात्र बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिएको नेकपा एस उक्त सहमति भंग भएपछि प्रतिपक्षी कांग्रेससँग मिल्न पुगेको थियो। तर फेरि उसैले सुदूरको मुख्यमन्त्री पाउने अर्को सहमति भएपछि भने सुदूरपश्चिममा विपक्षी गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ।  

नेकपा एसको उक्त कदमलाई राजनीतिक विश्लेषकहरू भने अनुचित ठान्छन्। विश्लेषक डा. लोकराज बराल नेकपा एसको बार्गेर्निङलाई अवसरवादी राजनीतिक चरित्रका रुपमा अर्थ्याउँछन्।

‘यो अवसरवादी राजनीतिक चरित्र हो’, उनी भन्छन्, ‘केन्द्रमा पनि दोधार हुँदै समर्थन गरेको उसले बार्गेनिङ नमिल्दैमा विपक्षीसँग मिल्न जानु त उचित देखिएन। यसरी सानो–सानो कुरामा उल्टिने–पल्टिने गर्नु भनेको अपरिपक्वता हो। यसरी त पार्टी कसरी चल्छ र?’ 

अर्का विश्लेषक श्याम श्रेष्ठ पनि आफ्नो हैसियत मुताबिकको बार्गेनिङ जायज भए पनि नेकपा एसले हैसियतभन्दा बढी बार्गेनिङ गर्नु गलत रहेको बताउँछन्। 

‘आफ्नो जति हैसियत हो त्यो हैसियत मुताबिक बार्गेनिङ गर्नु जायज कुरा हो‚ जसले पनि गर्छ। तर अहिले एकी‍कृत समाजवादीको बार्गेनिङ हैसियतभन्दा बढी नै देखिन्छ‚ यो ठिक होइन’, उनी भन्छन्, ‘यसले न स्वयं पार्टीलाई फाइदा गर्छ न गठबन्धनलाई फाइदा गर्छ। देश र जनतालाई फाइदा पुग्ने त झन् कुरै भएन।’

स्थापनाकै चरणमा रहेका नेकपा एस जस्ता दलहरूले सत्तालाई भन्दा संगठनको दायरालाई मजबुत पार्न विचार, सिद्धान्त र कार्यक्रममा ध्यान दिनुपर्नेमा विश्लेषक श्रेष्ठ जोड दिन्छन् तर नेकपा एसले भने एमालेबाट विभाजित हुनुको औचित्य नै पुष्टि गर्न नसकेको उनको तर्क छ। 

‘यस्ता पार्टीहरूले संगठनको दायरा मजबुत पार्नका लागि विचार, सिद्धान्त, कार्यक्रममा ध्यान दिनुपर्ने हो’, उनी भन्छन्, ‘एकीकृत समाजवादीले एमाले छाड्नुको औचित्य के त? एजेन्डामा केही फरक देखिँदैन। फरक पार्टी के लागि भन्ने प्रश्न उठ्छ। त्यसकारण आफूले अलग पार्टी बनाउनुको औचित्य सावित हुने काम गर्नुपर्छ। अहिले एकीकृत समाजवादी फरक पार्टी किन भन्दा बार्गेनिङ गरेर खानका लागि मात्र हो कि जस्तो देखियो !’

विश्लेषक डा. बराल पनि यस्ता पार्टीहरूले सत्ताको लोभमा फस्नुभन्दा सिद्धान्तमा अडिग रहेर जनमुखी कार्यक्रम ल्याउनेतर्फ ध्यान दिनुपर्ने सुझाउँछन्।

‘कमसेकम आफ्नो अडान राख्ने, सिद्धान्तमा अडिग रहने, लोभमा नफस्ने र जनमुखी कार्यक्रमको कुरा ल्याउने हो’, उनी भन्छन्, ‘तर शीर्ष नेताहरू मिटिङमा बस्छन्, कहिल्यै जनताको दुःखसुखको कुरा गर्दैनन्। खाली लेनदेनको कुरा मात्र हुन्छ।’

नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा भने कुनै एउटा दलसँग एकल बहुमत नभएको अवस्थामा गठबन्धन सरकार बनाउनैपर्ने र गठबन्धनमा रहीसकेपछि समान रुपमा अवसर पाउनुलाई बार्गेनिङ वा सत्तालिप्सा भनेर भन्न नमिल्ने बताउँछन्।

‘यसमा के सत्तालिप्सा भो? अवसरहरू बाँडिने नै कुरा हो। हामीले नपाउने भन्ने हुँदैन’, उनको भनाइ छ।

सुदूरपश्चिमको सन्दर्भमा पूर्वसहमति भंग भएपछि प्रतिवाद मात्र गरेको नेता खतिवडाको तर्क छ।

‘सहमतिमा सबै काम गरिएको थियो तर एमाले-माओवादीले दिमाग बदलेपछि धोका पायौँ र त्यसको प्रतिवाद गरेका हौँ’, उनले भने, ‘पछि फेरि सहमति भयो। हामीले मुख्यमन्त्री पायौँ।’ 

गठबन्धनमा रहीसकेपछि सबै विषयमा सहमतिका आधारमा सहकार्य हुनुपर्नेमा उपमहासचिव खतिवडा जोड दिन्छन्। सँगै रहेर धोकाधडी भइरहे त्यसले राम्रो परिणाम नल्याउने उनको भनाइ छ।

‘प्याकेजमा सहमति गरेर अगाडि बढे सोहीअनुसार जान्छ’, उनी भन्छन्, ‘तर एक्लाएक्लै डिल गर्ने र धोकाधडी भइरहे त त्यसको परिणाम पनि त्यहीअनुसारको हुन्छ नि।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.