|

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको असन्तुष्ट पक्षले आफ्नो समूहको सम्मानजनक उपस्थिति नभएसम्म वर्तमान सरकारमा सहभागी नहुने भएको छ।

पौडेल निवास बालाजु बोहोराटारमा दिउसो चार बजेदेखि बसेको असन्तुष्ट पक्षको बैठकले आफ्नो पक्षलाई सम्मानजन अर्थात पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कम्तिमा ५ वटा मन्त्रालय दिए मात्र सरकारमा जाने बटमलाइन बनाएको हो।

‘सभापतिजी (शेरबहादुर देउवा) ले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि पार्टीले कतिवटा र कुन/कुन मन्त्रालय पाउने भन्ने विषयमा सामान्य छलफल पनि गर्नुभएको छैन’, बैठकमा नेता पौडेलको भनाई उद्‍धृत गर्दै केन्द्रीय सदस्य जीवन परियारले भने, ‘अपमानित भएर हामी सरकारमा जानौँ।’

बैठकमा नेता पौडेलले सरकारमा जाने विषयमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग सामान्य छलफल समेत नभएको गुनासो गर्दै अरुले रोजेर छाडेको मन्त्रालयमा आफूहरु अपमानित भएर जिम्मेवारी सम्हाल्न नजाने बताएका थिए। पौडेलसहित उनीपक्षधर अधिकांश सांसदले माओवादीले छाडेका मन्त्रालय कांग्रेसलाई र त्यसमा पनि सभापतिले आफू निकटकालाई जिम्मेवारी दिएर बाँकी रहेका मन्त्रालयमा मन्त्री भएर जान नहुनेमा जोड दिएका छन्। 

‘नेता पौडेलसँगको सल्लाह र सुझाव बमोजिम हामीले पनि मन्त्रालय छान्न पाउनुपर्छ, नत्र अपमानित भएर सरकारमा जान नहुने भनाई सांसदहरुको थियो’ नेता परियारले थाहाखबरसँग भने ‘सल्लाह गरेर न्यूनतम सहमति खोज्ने हो भने हामी सरकारमा जान तयार छौँ, नत्र सरकारमा जान्नौँ।’ 

बैठकमा नेता पौडेलले सरकार विस्तारको विषयमा सभापतिको तर्फबाट उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि आफूसँग कुराकानी गरेको भन्दै कम्तिमा ५ वटा मन्त्रालय दिए मात्र जान सकिने बताएका थिए। नेता रामचन्द्र पौडेलले सरकारमा जाने विषयमा आफ्नो समूहलाई पाँचवटा मन्त्रालय दिन आग्रह गरेपनि सभापतिले नमानेको बताएका थिए। उनले कसैको करकाप र दवावमा आफूहरु मन्त्रीपरिषद्‍मा नजाने बताए।  

पौडेल निवासमा दुई घण्टा चलेको बैठकमा नेताहरु आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, नविन्द्रराज जोशी लगायतका नेताहरुको उपस्थिति थियो। असन्तुष्ट पक्षलाई मनाउने प्रयास स्वरुप बुधबार बिहान उपप्रधानमन्त्री समेत भएका विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास पुगेका थिए।

पौडेल पक्षले पाँच जनाको नाम मन्त्रीमा सिफारिस गरेपनि देउवाले भने अधिकतम चार जनालाई मात्र मन्त्री बनाउन सकिने बताएका थिए। यही अडानसाथ देउवाले मन्त्री हुने ९ जनाको नाम पनि फाइनल गरेका थिए। देउवाको जवाफ पछि पौडेलले आफू पक्षका नेताको बैठक बोलाएका थिए। 

पौडेलले नाम नदिएपछि सपथग्रहण रोकियो 

असन्तुष्ट नेता रामन्द्र पौडेलको समूहले माग गरेजति मन्त्रालय नदिएको भन्दै मन्त्रिपरिषद्मा जानेको नामावली सिफारिस नगरेपछि बुधबार हुने भनेको मन्त्रिपरिषद् विस्तार पनि रोकिएको छ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई १३ वटा मन्त्रालय  दिने सहमति भएको छ। पार्टी सभापति देउवाले प्रचण्ड नेतृत्वको सरकारमा दुई जनालाई भने पठाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.