सिरहा : सुखीपुर नगरपालिका–४ गोरियरवाका श्रेष्ठ समुदाय स्वरोजगारमै रमाउन थालेको तीन पुस्ता भयो। यहाँ रहेका १८ घरपरिवार घरका युवायुवतीदेखि हात चलाउन सक्ने वृद्धहरू घरमा बसेर राम्रो कमाइ गरिरहेका छन्।
यस गाउँका काम गर्न सक्ने मानिस घरमै नाङ्लो बुनेर बेच्छन्। यसबाट राम्रो आम्दानी गरिरहेको श्रीप्रसाद श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘त्यसबाट आउने आम्दानीले घरपरिवार राम्ररी चलाइरहेका छौं।’
नाङ्लो बेचेर उक्त गाउँमा हरेक साता करिव सवा लाख रुपैयाँ भित्रिने गरेको श्रेष्ठले सुनाए। ‘हरेक घरबाट सातामा औसतमा ५५ वटा नाङ्लो तयार हुन्छ’ उनले भने, ‘प्रतिगाेटा सामान्यको १०० र राम्रो गुणस्तरको १५० रुपैयाँको दरले बिक्री गर्दा सातामा तयार हुने एक हजार थान नाङ्लोबाट एक लाख २० हजार रुपैयाँ भित्रिन्छ।’
नाङ्लोको आम्दानीले दैनिक हातमुख जोड्नेदेखि छोराछोरीको पढाइ, घरायसी व्यवहार चलाउन कसैसँग ऋण माग्न जानु नपरेको स्थानीय हर्कमान श्रेष्ठको भनाइ छ। ‘गाउँमा आफ्नो जग्गा–जमिन नै नभएकाहरू विदेशबाट कमाएर जग्गा–जमिन जोड्ने उद्देश्यले केही विदेश जाने पनि छन्,’ उनले भने, ‘तर प्रायः सबै गाउँमै बसेर स्वरोजगार बनेका छन्।’
गाउँमै आउँछन् व्यापारी
सुखीपुर नगरपालिकाको केन्द्र रहेको सुखीपुर बजारबाट करिव अढाइ किलोमिटर दक्षिण–पश्चिममा पर्ने गोरियरवामा तयार भएका नाङ्लो किन्न हरेक साता व्यापारी गाउँमै आउने गरेको लक्ष्मण श्रेष्ठले बताए। उनले भने, ‘नाङ्लो किन्न छिमेकी गाउँ ब्रह्मपुरी, लहान, गोलबजारका होलसेल व्यापारी हरेक साता गाउँमै आउँछन्।’ व्यापारीलाई होलसेल मूल्यमा बेच्दा पनि आफ्नो लगानीबाहेक आधाभन्दा बढी फाइदा हुने उनको भनाइ छ।
एउटा नाङ्लोमा बनाउन आवश्यक सामग्री र आफ्नो पारिश्रमिकसहित करिव ५० रुपैयाँ पर्दछ। तर, बजारमा १०० सयदेखि १५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ।
सिरहाको लहानस्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाको लहान, बलानसेर, खेस्राहा, खप्टेडाँडा, गोलबजार, गोरियरवा, मलहनियालगायतका करिव आधा दर्जन गाउँमा व्यवसायिक नाङ्लो उत्पादन हुने गरेको छ। त्यहाँ उत्पादन भएका नाङ्लो काठमाडौंलगायत मुलुकका विभिन्न शहर तथा नेपालसँग सीमा जोडिएका भारतीय बजारसम्म बिक्री हुन कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।