|

डोटी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकासलाई ध्यानमा राखेर विकास निर्माणका काम गर्ने बताएका छन्।

शनिबार गृह जिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने, ‘जहाँ पायो त्यही सडक निमार्णको योजना बनाउने तर दिगो विकास हुने गरी कुनै काम नहुने हो भने विकास गर्नुको कुनै अर्थ छैन।’

विकासका लागि धेरै योजना निर्माण गर्नुभन्दा स्तरीय र दिगो बनाउन आवश्यक रहेको भट्टले बताए। भट्टले थपे ‘प्रदेश सरकार धेरै योजना नभई कम तर बृहत र परिणामुखी बनाउन तर्फ केन्द्रीत रहने छ।’ 

मुख्यमन्त्री भट्टले प्रदेश ७ लाई समृद्ध प्रदेश बनाउनका लागि प्रदेश सरकारले चारवटा विषयवस्तुलाई अगाडि बढाएको बताए। ‘कृषि प्रदेश समृद्धिको प्रमुख आधार हो’ मुख्यमन्त्री भट्टले भने, ‘कृषिलाई आधुनिकीकरण गर्ने, किसानलाई सहुलियत दिने, प्रत्येक जिल्लामा माटो परीक्षण गर्ने सरकारको मुख्य लक्ष रहेको छ।’

उनले प्रदेशभित्र जलविद्युत उत्पादन सरकारको दोश्रो प्राथमिकतामा रहेको बताए भने तेस्रोमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन, विकास र प्रचार रहेको जानकारी दिए। उनले आफ्नो चौँथो प्राथमिकतामा प्राविधिक शिक्षालयलाई राखेको बताए।

मुख्यमन्त्री भट्टले प्रदेशको संरचना नयाँ भएका कारण यसलाई विकासको क्षेत्रमा गति लिन सबैले सरकारलाई सहयोग गर्नु आह्वान गरे। उनले भने ‘म चमत्कार गर्छु भन्न त सक्दिनँ, तर सुरुवात गर्छु भनेर जिम्मेवारी लिएको हुँ, त्यसैले राम्रो कामको सुरुवात गर्छु।’ 

उनले भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ती नदिने वताए। ‘कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको टोल फ्रि नम्बरमा सिधै फोन गर्नुहोला’ उनले भने ‘हामी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सिद्धान्त अंगिकार गर्छौँ।’ 

जता पायो त्यतै सडक नबनाउनुहोस्

मुख्यमन्त्री भट्टले स्थानीय तहका जनप्रतिनिधिहरुलाई जहाँ मन लाग्यो त्यहाँ सडक काट्ने काम रोक्न आग्रह गरेका छन्। ‘ हामीहरूले विकास गर्ने नाममा विनाश निम्त्याउँदै आएका छौँ, यस्तो विकास दिगो हुन सक्दैन’ भट्टले भने ‘सडक काट्ने नाममा आज डाँडा खनिदैछन्, भोलि बर्षात सुरु हुँदा बाढी पहिरो जान्छ, हाम्रा घर बग्छन्, खेतीयोग्य जमिन बग्छ।’ 

उनले स्थानीय तहका जनप्रतिनिधिहरूलाई सडकलाई दिगो बनाउने योजना ल्याउन आग्रह गर्दै भने ‘यदि तपाईंहरू एक स्थानीय तहमा एक सडक मात्रै पनि दिगो बनाउने योजना ल्याउनु हुन्छ भने प्रदेश सरकारले त्यसका लागि थप बजेट दिन तयार छ। 

४४ औं स्थानमा डोटी जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा 

डोटी जिल्लालाई ४४ औं जिल्लाको रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।  शनिवार एक समारोहका बीच ७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो। ‘म ७ नं. प्रदेश का माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूलाई साँक्षी राख्दै डोटी जिल्ला आजदेखि पूर्ण खोपयुक्त जिल्ला भएको घोषणा गर्दछु’ जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐरले घोषणा गरे। 

२०७१ साल जेठ १६ गते साविकको भूमिराजमाडौं गाविस पहिलो पटक पूर्ण खोपयुक्त गाविस घोषणा भएदेखि गत बैशाख ३० गते दीपायल सिलगढी नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएसँगै जिल्लाका नौ वटै स्थानीय तह पूर्ण खोपयुक्त घोषणा भएको हो। 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा भुषण मिश्रले खोपको स्थिति प्रतिवेदन प्रस्तुत गर्दै विसिजी शतप्रतिशत बालबालिकाले प्राप्त गरेको बताए। उनले डिपीटी ९४ प्रतिशत, पोलियो ९४ प्रतिशत पिसिभी ८१ प्रतिशत र दादुरा रुपेला ९४ प्रतिशत प्राप्त गरेको जानकारी दिए। 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले जनताको सेवामा दत्तचित्त भएर लाग्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्। उनले भने ‘पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर मात्रै केही हुँदैन, त्यसलाई निरन्तरता दिनु पनि महत्वपूर्ण हुन्छ।’ उनले सबै बालबालिकाले नियमित खोप पाउने कुराको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहने बताए। 

पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नमा महत्त्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविकाको प्रदेश सरकारले उच्च मूल्यांकन गरेको बताउँदै भट्टले भने, ‘प्रदेश सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई सुविधा दिने कुरामा प्रतिवद्ध रहेको छ।’

मुख्यमन्त्री भट्टले अहिले अधिकार विकेन्द्रीकरण गरी स्थानीय तहसम्म पुगेको बताउँदै उक्त अधिकार जनताको पक्षमा प्रयोग गर्न जनप्रतिनिधि तयार हुनु पर्ने बताए। ‘अहिले सिंह दरवारको अधिकार गाउँगाउँमा भन्ने गरिएको छ, यसको अर्थ विगतमा सिंहदरबारबाट पाउने अधिकार गाउँबाटै पाउने भन्ने हो’ उनले भने ‘यदि हामीले सिंहदरवारको नाममा जनतालाई अनेक झमेला दिन खोज्यौँ भने त्यो दुर्भाग्य हुने छ।’ 

मुख्यमन्त्री भट्टले अन्य प्रदेशको तुलनामा प्रदेश ७ मा विभिन्न प्रकारका विभेद् रहेको बताउँदै यसको अन्त्यका लागि सबै सचेत बर्गले चेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी भएको बताए। ‘समाजमा विभिन्न कुरीति रहेका छन, यी कुरीति अन्त्य गर्नका लागि जनप्रतिनिधिको नेतृत्वमा रुपान्तरण अभियान सञ्चालन गर्नुपर्छ’ भट्टले भने, ‘त्यसका लागि जनप्रतिनिधिले आफ्नै घरबाट र आफ्नै व्यवहारबाट सुरु गर्नुपर्छ।’ उनले प्रदेश सरकारले यस्तो प्रकारको रुपान्तरण अभियानको तयारी गरिरहेको बताए । 

खुटिया सडक प्रदेश ७ कै नम्बर एक एजेण्डा 

मुख्यमन्त्री भट्टले खुटिया–बिपीनगर–दिपायल फास्ट ट्रयाक प्रदेश ७ को एक नम्बर महत्त्वको योजना भएको बताएका छन्। संघीय सरकारले जेठ १५ गते संसदमा पेस गरेको बजेटमा खुटिया–बिपीनगर–दिपायल सडकलाई प्राथमिकता दिएको भन्दै संघीय सरकारलाई धन्यवादसमेत दिएका छन्। उनले उक्त सडकमा सुरुङ मार्ग निर्माण भएपछि सडकको दूरी अझ घट्ने बताए । 

यस्तै, मुख्यमन्त्री भट्टले वर्षौँदेखि राजनीतिक मुद्दा बन्दै गएको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना सरकारले आफ्नै लगानीमा निर्माण हुने गरी बजेट वक्तव्यमा आएको बताउँदै भने, ‘अब पश्चिम सेती परियोजना निर्माण हुने पक्कापक्की भएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.