|

कपिलवस्तु : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले प्रतिबन्धित गरिएको नेत्रबिक्रम चन्द्र (विप्लव) नेतृत्वको पार्टीको समस्या समाधानको जिम्मेवारी नेकपा अध्यक्ष प्रचण्डले लिने पर्ने बताएका छन्। नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय कार्य समिति ३ ले यशोधरा गाउँपालिकाको अम्लोनहामा आयोजना गरेको आमसभालाई सम्बोधन नेता पौडेलले सो विचार व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै नेता पौडेलले हिजो युद्धमा सँगै रहेका प्रचण्डले विप्लवको समस्या समाधनका लागि अग्रसर हुनु पर्ने तर्क दिए। निषेधको राजनीतिले कसैको हित नगर्ने बताउँदै विप्लवको समस्या सहमतिमै समाधान गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्रीले जनताका समस्या समाधनमा भन्दा पनि ठूला सपना देखाउनमै समय बिताएको र सरकारको पहिलो वर्ष उपलब्धिहिन भएको उनको भनाई थियो। 'किसानलाई खेती गर्न पानी चाहिएको छ, अहिले पानी जहाजभन्दा पनि पानीको आवश्यकता हो' उनले थपे। राष्ट्र बिखण्डनको मुद्दा बोकेका सिके राउतसँग सरकारले अपरिपक्व निर्णय गरेको उनले आरोप लगाए।

सहमतीको दुई दिनपछि नै सिके राउत जनकपुर पुग्दाको दृश्यले सहमतिमा प्रयोग गरिएका भाषा र सहमति अपरिपक्व भएको प्रष्ट भएको पौडेलले बताए। मधेसका नेता पदको दौडधुपमा मात्र लागेको तर मधेसको विकासमा ध्यान नपुर्‍याएको उनको आरोप थियो।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य अतहर कमालले उग्रराष्ट्रवादको नारा बोक्ने केपी ओली र उग्रविखण्डनको नारा बोक्ने सिके राउत बीचको साठगाठमा विगतमा जनता झुक्याइएको आरोप लगाए। विप्लव नेतृत्वको माओवादीको कतिपय कार्यमा आफ्नो विमती भए पनि राष्ट्रियताका सवालमा विप्लवको प्रतिबद्धता रहेकाले समस्याको समाधान सम्वादबाटै गर्न आवश्यक रहेकोमा कमालले जोड दिए।

पार्टी नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले विखण्डन रोजेका सिकेसँग सहमती गरेर राष्ट्रवाद बोक्ने विप्लवलाई प्रतिबन्ध गर्ने सरकारको अदूरदर्शि निर्णयले देशमा नयाँ द्वन्द्वको विजारोपण हुन सक्ने आशंका व्यक्त गरे।

नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले सरकारले गरिब र किसानका समस्या समाधानमा चासो नदिएको बताए। वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै आगामी निर्वाचनमा ५ लाख तरुणको मत वृद्धि गर्न तरुणदल तयार रहेको तरूण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बताए। बर्तमान सरकारले हत्या, हिंसा र भ्रष्टाचारलाई संस्थागत गरेको पार्टीका पूर्वजिल्ला सभापति राजेश आचार्यको आरोप थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.