|

हेटौंडा : ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो। यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ।

ठेकी सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ। मकवानपुर काठे ठेकीका लागि प्रख्यात छ। तर अहिले देशभरि काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडेको छ। केही वर्षअघिसम्म विशेष गरि मकवानपुरको गाउँ–गाउँमा काठको ठेकी भेटिन्थ्यो तर अहिले ठेकी कमै मात्र भेटिन थालेको छ।

काठको ठेकी बन्ने दारको रुख समेत पाउन छाडेको र ठेकी खोप्ने मान्छे नहुँदा ठेकी पाउन छाडेको भीमफेदीका स्थानीय अगुवा हरिशरण हटुवाल बताउँछन्। उनका अनुसार पहिले पहिले गाउँमा बनेको ठेकी भक्तपुर, काठमाडौं सहित अन्य जिल्लामा समेत पुग्ने गरेको थियो। तर अहिले मकवानपुर जिल्लामा नै काठको ठेकी नपाउँदा स्थानीय कृषकहरू  स्टिलको ठेकीमा दही जमाउन, मोही पार्न बाध्य छन्।

 काठको ठेकीमा दहिको मोही पार्न मदानीलाई काठको घुर्रोमा अड्याएर नेती नामको डोरीले दुईतिर तान्दै मदानी घुमाउने गरिन्छ र स्टिलको भाँडामा मदानी विना नै फिरफिरेले पनि मोही पार्न सकिन्छ। हेटौंडा–१६ की उमा चौलागाईका अनुसार अहिले मकवानपुर जिल्लामा काठको ठेकी नै भेटिन छाडेको छ। अहिले बजारमा पाइने काठको ठेकी बलियो र सस्तो नहुने भएकोले आफूले स्टिलको ठेकी प्रयोग गरेको बताउँछिन्।

राम्रो  काठको ठेकी ल्याउन अर्डर दिएर पोखरा लिन जानुपर्ने उनले बताइन्। स्टिलको भाडामा जमाएको दही भन्दा काठको ठेकीमा जनाएको दही मिठो हुने र धेरै समय सम्म  नअमिल्लिने हुन्छ। यस्तै ढिक्के नुन राख्नको लागि पनि गाउँघर तिर ठेकीको प्रयोग हुने गर्दछ। आधुनिक प्रविधि भित्रिने क्रमसँगै  काठको ठेकीको प्रयोग घर–घरमा कम हुदै गएको हो।

काठलाई खोपेर बनाइने ठेकीको पेशा अंगाल्ने मान्छे नहुँदा काठको ठेकीको बजार पनि घटेको अगुवा किसान समेत रहेका मकवानपुर गढी गाउँपालिका ६ का वडाध्यक्ष टिका दाहाल बताउँछन्। लामो समय सम्म  जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रहेका रामकृष्ण थापाका अनुसार   मकवानपुरमा कुनैबेला हाट बजारमा ठेकीको समेत व्यापार हुने गर्दथ्यो। त्यस बजारमा हाटको २५ देखि ३० वटा ठेकी बिक्री हुन्थ्यो भने हाल त्यस्तो हाटबजारमा ठेकी भेटिन छाडेको छ।

मकवानपुरका ग्रामीण केही किसानले अहिले वाग्लुङ, स्याङ्जाबाट चुदारले बनाएको ठेकीको प्रयोग गरेता पनि अधिकांश कृषकले घरमा दही जमाउन वा मोही पार्न स्टिलको ठेकी प्रयोग गर्ने पाइएको छ। 

नयाँ पुस्ताले थाहा नै छैन मदानी र ठेकी

भीमफेदीका स्थानीय हरिशरण हटुवालको अनुसार अहिले काठको ठेकी, मदानी मासिनुमा स्थानीय स्तरमा नै दूध डेरीहरू सञ्चालन हुनु हो। आफ्नो गाइ भैंसीको दूध पहिले घरमै जमाएर दही, मोही, घ्यु उत्पादन गर्ने भएता पनि अहिले लिटरको आधारमा छिटो पैसा आउने भएकोले किसानले अहिले दैनिक रुपमा घरबाट दूध डेरी पुर्‌याउने गरेका छन्। यसरी दैनिक रुपमा डेरीमा दूध लैजाँदा घरमा दही जमाउने, मोही पार्ने कम नपर्ने भएकोले ठेकी र मदानीको महत्व कम हुँदै गएको स्थानीय अगुवाहरूको भनाई छ। 

मकवानपुरका विद्यालयमा भएका अधिकांश हाजरी जवाफ प्रतियोगितामा ठेकीको लागि प्रख्यात जिल्ला कुन हो भनेर प्रश्न गर्ने गरेको पाइन्छ। तर मकवानपुरकै अधिकांश विद्यार्थीलाई यो विषय थाहा नभएको विद्यालयका प्रधानध्यापकहरू बताउँछन्।

विशेष गरी बजार क्षेत्रका निजी विद्यालयका विद्यार्थीले ठेकीको विषयमा पाठ्यक्रममा पढेता पनि प्रत्यक्ष भने कमैले मात्रै देख्न पाएको प्याबसन मकवानपुरका उपाध्यक्ष विनोद सुवेदीले बताए।

सुवेदीका अनुसार केही बोर्डिङहरूले  मोही पारेको देखाउन विद्यालयबाट लैजाने गरेता पनि ठेकी मदानीको विषय बुझाउन भने नसकेको हाे।

पाठ्यक्रममा पनि थोरै मात्रै समावेश भएकाले मोही भनेको जगमा दहि घोलेर खाने भन्ने विद्यार्थीमा बुझाइ रहेको समेत उनले बताए। नयाँ पुस्ताका युवा युवतीलाई समेत मदानी र ठेकीको विषयमा थाहा नहुनु परम्परागत सीप र कलाको विषय मर्दै गएको भन्ने प्रष्ट हुन्छ।

पहिचानको लागि ठेकी आकारको ट्यांकी

नेपालका प्रत्येक जिल्ला विभिन्न कुराको लागि प्रख्यात छ। मकवानपुरको चिनारीको रुपमा रहेको ठेकीको आकारमा अब हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बसपार्कमा ठेकी आकारको पानी ट्यांकी निर्माण गर्ने भएको छ।

सत्य साइकेन्द्र प्रदेश ३ समिति र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कमा मकवानपुरको चिनारीका रुपमा रहेको ठेकी आकारको खानेपानी ट्यांकी निर्माण निर्माण गर्न लागिएको हो।

मकवानपुरको चिनारीलाई संरक्षण गर्न तथा पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुलाई सहज खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ बसपार्कको बीच भागमा ट्यांकी निर्माण गर्न लागिएको हेटौंडा उपमहानगरापलिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए। 

ठेकी आकारको ट्यांकीको लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले एक कार्यक्रमका बीच उद्घाटन समेत गरिसकेका छन्। प्रमुख महतले ठेकी आकारको ट्यांकीले मकवानपुरको चिनारीको रुपमा रहेको ठेकी र मकवानपुर दुबैलाई चिनाउने बताए।

सत्य साई केन्द्रको १५ लाख र १० नम्बर वडा कार्यालयको ७ लाखको लागतमा करिब ३५ सय लिटर क्षमताको खानेपानी ठेकी आकारको ट्यांकी निर्माण गर्न लागेको हो। ट्यांकीमा हेटौंडा खानेपानी बोर्डले नियमित निशुल्क खानेपानी उपलब्ध गराउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.