मनाङ : गण्डकी प्रदेशमा अवस्थित हिमालपारिको सुन्दर जिल्ला हो मनाङ। पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ मनाङको सिमाना।
जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण गरिएको भनाइ छ। मनाङ शब्द तिब्बती भाषाको “म्हनाङ्“ शब्दबाट अपभ्रंश भएर आएको हो। मनाङमा चामे, नार्पाभूमि, नासोँ र मनाङ ङिस्याङ गरी ४ गाउँपालिका छन्।
यस जिल्लामा मनाइने महत्वपूर्ण पर्व यार्तुङ अर्थात् घोडादौड महत्वपूर्ण पर्व हो। यो पर्व साउनको अन्तिम साताबाट सुरु भई भदौका पहिलो सातासम्म रहन्छ। यस जिल्लामा निकै तामझामका साथ मनाइन्छ। पाँच दिनसम्म मनाइने यो पर्व आफ्नै महत्व छ।
यो पर्व मनाङका सबै गाउँहरूमा उत्तिकै महत्वका साथ मनाइन्छ। पछिल्लो समय यो पर्वको रौनकता तल्लो मनाङमा घट्दै गए पनि माथिल्लो मनाङले भने निरन्तरता दिँदै आएको छ।
पाँचवटा छरिएर रहेका बस्ती सरेर एकै ठाउँमा बसोवास गर्ने भएकाले यस ठाउँको नाम खाङसार रहन गरेको भन्ने भनाइ रहेको छ। खाङको अर्थ पाँच र सारको अर्थ सँगै भन्ने बुझिन्छ। वर्षको एकपटक मनाइने यार्तुङ पर्व यहाँका मानिसहरुले आफ्नो कुलपूजाको रुपमा लिने गर्दछन्।
बर्खाको खेतीपाती सकेपछि तिथिमिति जुराएर यो पर्व सुरु हुन्छ। यस पर्वको अवसरमा गाउँका सवै मानिसहरु सहभागी हुँदै गाउँमा ठूलो काठको लिंगोमा ध्वाजा बाँधेर सुरु गर्ने परम्परा रहेको छ।
पहिलो दिन घोडामा सवार
पर्वको पहिलो दिन गाउँमा भेला भई सबै गाउँलेले आ–आफ्नो घोडामा सवार भएर आफ्नो भाषाको गीत गाउँदै गाउँका युवा, युवती, बुढापाका प्रख्यात तारेगुम्बा पुग्ने गर्दछन्। यहाँ लामागुरुबाट पूजा पाठगरी छेमे अर्थात् बत्ती बालेर घोडामै गाउँदै नाच्दै पुरानो गाउँमा पुग्ने चलन छ। यो क्रम तीन दिनसम्म निरन्तर जारी रहन्छ।
मनपरेकी युवतीलाई घोडामा राखेर गुम्बा
यार्तुङको चौथो दिन यो पर्वको सबैभन्दा महत्वपूर्ण दिन हो। यसदिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने परम्परा रहेको छ। गाउँका महिला भने घोडा चढेर आउनेलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने गर्दछन्।
यसरी खादा र सगुन लिइसकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले नाचगान गरी मनोरञ्जन प्रदान गर्ने प्रचलन रहेको छ। यो क्रम रातभरि नै चलिरहन्छ। यसरी गुम्बामा नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट हुनबाट बचाउने धार्मिक जनविश्वाससमेत छ।
यार्तुङको अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ सुरु हुन्छ। लगभग दिनैभरि पूजापाठ गरेपछि घोडादौड प्रतियोगिता गरी सबैभन्दा छिटो दौडने घोडालाई वर्षको मूल्यवान् घोडा मान्ने चलन रहेको छ। यस पर्वमा मनाङवासी आफ्नो परम्परागत भेषभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन्।
यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ। यसरी पर्व मनाउँदा यहाँका स्थानियमा एकता कायम भई गाउँमा कुनै पनि अनीष्ट नहुने किंवदन्ती छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।