मुगु : छायानाथ रारा नगरपालिका ४ का शोब बहादुर भामका परिवारलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ छ। किसान कर्णबहादुर भामका परिवार पनि स्याउ टिप्न आफ्नो बगैँचामा बिहानैदेखि व्यस्त देखिन्छिन्।
उनीहरू मात्र होइन यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो छ। मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रका स्याउ किसान स्याउ टिप्न व्यस्त छन्।
स्याउको सिजन मानिने भदौ महिना लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको हो। अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै स्याउ टिप्न व्यस्त देखिन्छन्। स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैँचा खाली गर्न थालेका हुन्।
२० वर्ष पहिले स्याउ कात्तिकमा पाक्ने भएको भए पनि मौसम परिवर्तनले भदौमा स्याउ पाक्न थालेका किसान कर्णबहादुर भामले बताए।
'आफ्नो बारीमा २ यस बोट छन्। ७० क्विन्टल स्याउ उत्पादन हुने अनुमान गरेको छु। बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो छ' उनले भने। स्याउ भए पनि भरपर्दो सडक नुहँदा स्याउ बजारीकणको समस्याले स्याउ उत्पादन भए पनि बिक्रीमा असहज भएका भामको भनाइ छ।
स्याउ टिपिसक्दा पनि मोटर बाटो सञ्चालनमा आउने छाटकाट नदेखिएपछि आफूहरूलाई स्याउ बिक्री गर्न नपाए कुहिने हो कि भन्ने चिन्तामा यहाँका किसान छन्।
बगैँचामा स्याउ पाकिसके पनि वर्षाका कारण स्याउ कुहिएर खेर जाने हो कि भन्ने चिन्ता रहेको छायानाथ रारा नगरपालिका ५ का स्याउ कृषक लालसुवा भामले बताए।
'मौसम राम्रो हुँदा स्याउका चाना बनाउन सकिन्थ्यो तर मौसम पनि राम्रो छैन, ताल्च विमानस्थल भएर नेपालगञ्ज जाने हवाई यात्रुले दुई चार केजी स्याउ लैजान्छन अरू बगैँचामा झर्न थालेको छन' उनले भने, 'टिपेका स्याउ पनि गोठमा थन्काउनु परेको छ।'
उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ। स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका भए पनि असहज हुने र स्याउमा दाग लाग्ने किसाहरूले बताउने गरेका छन्।
गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन वृद्धि हुने अनुमान कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगु छ। अघिल्लो आर्थिक वर्षमा १५ मेट्रिक टन स्याउ उत्पादन भएको भएको थियो।
यस वर्ष जिल्लामा ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख सुकिराम नेपालीले बताए।
त्योमध्ये जिल्ला बाहिर अघिल्लो वर्ष चार मेट्रिक टन मात्र निर्यात भएको थियो। यो वर्ष सडक अवरुद्धले गर्दा स्याउ निर्यातमा समस्या हुने देखिन्छ।
यसैबीच मुगुको स्याउ उत्पादन बढे पनि गुणस्तर भने खस्कँदै छ। स्याउ विरुवाको समयमै काँटछाँट नहुनु, मलजल नगर्नु, किरा लाग्नुलगायत कारणले गुणस्तर भने खस्कँदै गएको निमित्त प्रमुख नेपालीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।