कामसँगै नाम पनि उप-प्रादेशिक हुँदै

|

बागलुङ : तत्कालीन बागलुङ जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरि अञ्चल अस्पतालमा बढुवा गरियो। अञ्चल अस्पताल भएपछि विशेषज्ञ सहितको सेवा दिने कानुनी प्रावधान छ। तर, लामो समयसम्म यो अस्पतालमा विशेषज्ञ सेवा प्राप्त भएन।

अस्पताल विकास समितिले पटकपटक प्रयास गर्‍यो। त्यति मात्र हैन तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले पनि विशेषज्ञ पठाए। तर, उनी मन्त्री पदबाट बाहिरिएको दिन आएका विज्ञहरू फर्के।

विशेषगरी सुविधा सम्पन्न शहरमा बसेका विशेषज्ञ डाक्टरले नियुक्तसँगै काजसमेत सँगै लिएर आउने प्रवृत्तिले अस्पताल व्यस्थापन समिति मात्र हैन सेवाग्राही हैरान थिए। विशेषज्ञ नबसेपछि अत्यावश्‍यक सेवा पनि दिन नसकेर रिफर सेन्टरमा परिणत भएको थियो। चिकित्सक अभाव हुँदा यहाँ आएपछि चार जिल्ला घुमाएर मात्र प्रसूति व्यथा लागेकाले उपचार पाउने बाध्यतासमेत थियो।

तर,  पछिल्लो दुइ बर्षमा अस्पतालले भौतिक प्रगती राम्रो गरेको छ। साथै विशेषज्ञ सहितको सेवा प्रवाह पनि बढाएको छ। व्यवस्थापन पक्ष र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सामुहिक प्रयासले अस्पतालमा सुधारका संकेत देखिएका छन्। अहिले अस्पतालमा १० जना विशेषज्ञसहित २३ डाक्टर बसेर सबैखाले विशेषज्ञ सेवा दिएका छन्। सेवा बढेकै कारण दैनिक ३ सय बिरामी उपचारमा आउन थालेका छन्।

शाख जोगाउँदै अस्पताल

 एक महिनादेखि नेपालमा कोरोना भाइरसको प्रभाव बढेको छ। भारतबाट आउनेदेखि विदेशबाट आएका यात्रीबाट संक्रमण भित्रिएपछि बागलुङमा जोखिम पनि बढी छ।

बागलुङकै अस्पतालमा दुई जना संक्रमित उपचार गराइरहेका छन्। उनीहरुको नियमित उपचार, हेरचाहको जिम्मादेखि नियमित बिरामीको उपचार र विशेषज्ञ सेवा प्रवाह गर्ने काम चुनौतीपूर्ण छ। यो अवस्थामा धौलागिरि अञ्चल अस्पतालले आफ्नो नियमित शाख जोगाएको छ।

साथै यही चुनौतीपूर्ण अवस्थामा अस्पतालले थप साधनश्रोत र उपकरण थप गरेको छ। एक साताअघिसम्म हुँदै नभएको अवस्थाबाट यहाँ ३ वटा भेन्टीलेटर जडान भएका छन्। आइसियु कक्ष निर्माणाधिन छ। केही उपकरण आइसकेका छन्। अस्पतालमा एक्सरे, भिडियो एक्सरे, डायलायसिस र अपरेशनका सेवा नियमित भइरहेका छन्।

अस्पतालमा अहिले पनि दैनिक ४ जनासम्म अप्रेशनमार्फत सुत्केरी गराउने काम भइरहेको छ। अन्य अप्रेशनसहित बालरोग, सर्जन, हाडजोर्नी लगायत तत्कालको आवस्यकताका लागि व्यवस्थापकीय काम पनि भएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेल बताउँछन्।

मौसमी ज्वरो, रुघाखोकी र दुर्घटनाका बिरामीको उपचार गर्ने काम पनि यहाँ रोकिएको छैन। सबैखाले बिरामीको आकश्मीक उपचार र कोरोनाका बिरामीको उपचारमा रत्तिभर कमी आउन नदिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर बताउँछन्। एक महिनादेखि दैनिकी फेरिनुको साथै कामको जिम्मा बढी भएको अस्पतालका डाक्टर ढुण्डीराज पौडेल बताउँछन्।

थप जिम्मेवार बन्दै

प्रमुख डाक्टर पोखरेलले भने, ‘नियमित काम भइरहेकै छ, दुई जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइएकोले थप जिम्मेवारी छ।’ हाल  अस्पतालमा १० जना विशेषज्ञ डाक्टर छन्। मेडिकल अधिकृतसमेत २३ जना कार्यरत छन्।

४० जना नर्स, ४० कै हाराहारीमा अन्य स्वास्थ्यकर्मी पनि छन्। यो अवस्था आउन धेरै समय लाग्यो। यो अस्पताल स्थापना भएको ६० वर्ष पुगेको छ। क्लिनिकबाट सुरु भएको अस्पताल जिल्ला अस्पताल हुँदै अञ्चल र पछिल्लो समय उप–प्रादेशिक अस्पताल बनाउने निर्णय गण्डकी प्रदेश सरकारले गरेको छ। अब यस अस्पतालको काममा आएको परिवर्तनसँगै नाम पनि परिवर्तन हुने अध्यक्ष राना बताउँछन्।

अस्पतालमा १९ बर्षकी एक युवतीको कोरोना संक्रमणको उपचार भइरहेको छ। एक ६५ वर्षकी महिला उपचार सफल भएर हिजो मात्रै घर फर्केकी छन्। युवतीलाई सामान्य रुघाखोकी र ज्वरोको औषधि चलाएकोमा महिलालाई दम, रक्तचाप, मुटु, मृगौला लगायतका समस्याका औषधि पनि चलाउनु परेको थियो।

‘भाइरल र व्यक्टेरियाबिरुद्धका औषधि चलाउने र निको पार्ने काम गरिएको छ’ प्रमुख डाक्टर पोखरेल भन्छन्, ‘विश्वभर अध्ययनकै क्रममा रहेको रोगसँग आँफै सचेत भएर लड्नु परेको छ।’ सामान्य बिरामीभन्दा फरक समस्याले डाक्टर आफैँ जोगिने काम गर्नुपरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.