ओलीको आदेशमा पार्टी फुटाउन लागियो : उपेन्द्र यादव

|

काठमाडौं : सरकाले सोमबार जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका बाछिटा देखिन सुरु भएको छ।

कुनै पनि दल विभाजित हुन केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत भए पुग्ने प्रावधानसहितको अध्यादेश सोमबार जारी भएपछि त्यसको पहिलो असर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीमा देखिएको छ। 

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले स्वकीय सचिव विश्‍वदीप पाण्डेमार्फत सार्वजनिक गरेको विवरण अनुसार बुधबार साँझ सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव जनकपुरबाट 'गायब' भएका छन्। 

पाण्डेले फेसबुकमा सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद अपहरणको संगीन आरोप लगाइएको छ। उनले प्रधानमन्त्री ओलीको आदेशमा सांसद यादवलाई जनकपुरबाट बुधबार साँझ प्रहरीले 'अपहरण गरेर' काठमाडौं लगेको दाबी गरेका छन्। 

'आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदैछ', उनले भनेका छन्, 'सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्‍ने? यो के हुन लागेको हो ओलीतन्त्रमा?'

उपेन्द्र यादवले यसो भने 

अर्कातिर समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टी फुटाउनका लागि प्रधानमन्त्री ओलीको निर्देशनमा आफ्ना सांसदहरु गायब गरिएको आरोप लगाएका छन्। 

'हाम्रा केही सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशनमा गायब बनाइएको छ', उनले भनेका छन्, 'आर्थिकसहितका विभिन्‍न प्रलोभन देखाएर पार्टी फुटाउन यसो गरिएको हो। डाक्टर सुरेन्द्र यादवलाई जनकपूरबाट अपहरण गरेर काठमाडौं  लगिदै गरेको छ ।' डाक्टर यादव यसअघि स्वास्थ्य राज्यमन्त्री थिए ।

स्रोतका अनुसार अहिलेसम्म नयाँ पार्टी स्थापनाका लागि समाजवादीका ५ जना सांसद तयार भइसकेका छन्। सांसद यादवसहित उनीहरुले केही दिनमै नयाँ पार्टी गठनको तयारी गरेका छन्। उनीहरु सबैलाई प्रधानमन्त्रीको निर्देशनमा गायब बनाइएको दाबी समाजवादीका दुवै अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले गरेका छन्। 

त्यही तयारीका क्रममा उनीहरु जुटेको स्रोतको दाबी छ। समाजवादी पार्टीका जम्माम १७ सांसदमध्ये करिब आठजनाले पार्टी छाड्ने तयारी गरेका छन्। जसको नेतृत्व पूर्वमन्त्री मोहम्म इस्तियाक राईले गरेका छन्। 

सूर्य थापाको प्रतिक्रिया

समाजवादी पार्टी नेपालका दुवै अध्यक्षले आफ्ना सांसदलाई अपरहण गरिएको भनेर लगाएको आरोपको प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले खण्डन गरेका छन्। उनले सांसदहरुले सुरक्षा मागेको भए या कुनै खतरा भएको भए प्रधानमन्त्रीले नभइ गृहमन्त्रीले प्रहरी परिचालन गर्ने उल्लेख गरे। 

'दुईतिहाइ नजिकको सरकार चलाइरहेका प्रधानमन्त्रीले कुनै अमुक दलका सांसदलाई उठाउन किन प्रहरी लगाउनु ? अहिले नै सरकारसँग करिब दुईतिहाइ छ, सरकारलाई किन चाहियो थप सांसद?', थापाले प्रश्‍न गर्दै भने, 'बाबुराम-उपेन्द्रजीहरु आफ्नो थैली बलियोसँग बाँध्न नसकेपछि अरुलाई आरोप लगाउँदै हुनुहुन्छ। करोडका करोड खर्चिएर सरकारले सांसद किन्‍न लागेको आरोप पनि सुनेँ। अहिले सरकारलाई अतिरिक्त सांसद चाहिएको छैन। आफ्ना सांसदको जगेर्णा गर्न नसक्नु वहाँहरुकै कम्जोरी हो।'

सरकार अहिले कोभिड-१९ विरुद्ध डटिरहेको बताउँदै सल्लाहकार थापले यो बेलामा अन्य कुरामा ध्यान दिने फुर्सद नभएको पनि उल्लेख गरे। 'सरकारले आफ्नो काम गरिरहेको छ', उनले भने, 'अरु दलका आन्तरिक किचलोमा किन हात हाल्नु? आफ्नो दलमा झगडा चर्काएर सरकारलाई आरोप थोपर्नु त राजनीतिक चरित्र भएन नि!'

एकता वार्ता 

यसैबीच सरकारले ल्याएको नयाँ अध्यादेशको फाइदा उठाउँदै समाजवादी र राष्ट्रिय जनता पार्टी दुवैबाट केही सांसद र नेताहरु अलग्गिने तयारी भएपछि दुई पार्टीको नेतृत्वबीच अहिले वार्ता चलिरहेको छ। पार्टी छाड्नेलाई ४० प्रतिशत पुग्न नदिइ रोक्ने रणनीति अनुसार दुई दलबीच एकता वार्ता भएको हो।

स्रोतका अनुसार भोलि नै दुई पार्टीबीच एकता गर्ने गरी काठमाडौंमा वार्ता भइरहेको छ। पार्टी एकता घोषणापूर्व राजपाका तर्फबाट ४ अध्यक्ष महन्थ, राजेन्द्र, महेन्द्र र शरदसिंह भण्डारी तथा समाजवादी पार्टीकोतर्फबाट‌ उपेन्द्र, डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ‌ बैठकमा सहभागी भएका छन्। 

उनीहरुबीच भइरहेको एकता वार्तामा सकेसम्म भोलि नै एकताको सहमति पत्रमा हस्ताक्षर गर्ने गरी छलफल अघि बढेको छ। तर समाजवादीका एकजना नेताले भने अहिलेको संकटपूर्ण अवस्थामा एकता र फुटको दुवै निर्णय अनुचित हुने बताए। 

'कोभिड-१९ को संकटका बेला एकता र फुट दुवैले कार्यकर्तामा गलत सन्देश जान्छ', ती नेताले भने, 'यो बेला कोरोना भाइरसविरुद्ध सबै एकजुट हुनु आवश्यक छ। सरकारले कुबेलामा ल्याएको अध्यादेश जस्तै समाजवादी-राजपा एकता फुटको कुरा पनि बेमौसमी बाजा नै हो।'

समाजवादीका असन्तुष्ट

पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई नेकपा नेतृत्वको सरकारमा रहँदैदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिए। पार्टी अध्यक्षको कार्यशैलीलाई लिएर उनले निरन्तर फरक मत राखिरहेका थिए। 

देशमा भएको आमनिर्वाचनभन्दा अघि नयाँ शक्तिबाट समाजवादीमा प्रवेश गरेका उनी महोत्तरीबाट प्रतिनिधिसभामा विजयी भएका थिए। अहिले उनकै नेतृत्वमा कम्तीमा सातजना सांसद नयाँ अध्यादेशको फाइदा उठाउँदै समाजवादीबाट बाहिरिन लागेका हुन्। 

सुरुमा यादवसँगै रहेका राई सरकारमा हुँदा र बाहिरिदेखि टाढिएका थिए। उनीसँगै कम्तीमा सातजना सांसदले समाजवादी छाड्ने तयारी गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार उपेन्द्र यादवका विश्‍वासपात्र मध्ये एक सांसद रेणु यादवले पनि समाजवादी छाड्ने तयारी गरेकी छन्। 

समाजवादीको असन्तुष्ट खेमामा बाँकैबाट निर्वािचत सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, रेणु यादव, पर्साका सांसद प्रदीप यादव र विमल श्रीवास्तव पनि रहेका छन्। त्यसैगरी कैलालीकी समानुपातिक सांसद कलुदेवी विश्‍वकर्मा, झापाकी रेणुका गुरुङ पनि समाजवादीलाई बाइबाइ गर्ने निचोडमा पुगेका छन्। सं‍सदीय दलका उमाशंकर अर्गरिया पनि राईकै नेतृत्वमा समाजवादीबाट बाहिरिने तयारीमा छन्। 

मुस्लिम कोटाबाट निर्वाचित अर्की सांसद रोही नाज कुनै बेला अध्यक्ष यादवनिकट मानिन्थिन्। तर अहिले उनी पनि ढुलमुलको अवस्थामा रहेको स्रोतले बतायो। उनीहरुले यसअघि नै समाजवादी छाडेर नयाँ पार्टी खोल्ने कोशिश गरे पनि संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यताले अफ्ठेरोमा परेका थिए।

तर प्रधानमन्त्री ओलीले सोमबार राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानमा हेरफेर गरी संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगेमा पार्टी फुटाउन सकिने खुकुलो प्रावधानसहितको अध्यादेश जारी गराएसँगै नयाँ पार्टी जन्मिन लागेको हो। स्रोतका अनुसार अबको केही दिनमै उनीहरुले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने सम्भावना छ। 

के गर्ला राजपा ? 

मधेसको अर्को ठूलो दल राजपामा पनि अध्यादेशको बाछिटा परेको छ। समाजवादीकै शैलीमा अध्यादेशको चर्को विरोध गरेको राजपामा पनि समस्या देखिएको छ। स्रोतका अनुसार  राजपामा राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी समाजवादीसँग एकताको पक्षमा छन्। महन्थ ठाकुर पनि एकताका लागि लचिलो छन्। 

तर समाजवादीका नेताहरु राजकिशोर यादव र अनिल झासहितको टोली एकताका लागि तयार छैन। उनीहरु पनि यही अध्यादेशको फाइदा लिएर पार्टीबाट बाहिरिन सक्ने दाबी स्रोतले गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.